बिहीबार, १२ असार २०८२ ०७:५७

सियारीमा स्काउट आधारभूत तालिम (BTC) सम्पन्न

मंगलवार, ३ असार २०८२ १५:२७

रुपन्देही, सियारी — सियारी गाउँपालिकामा स्थानीय स्काउटको आयोजना र गाउँपालिकाको सहकार्यमा स्काउट आधारभूत तालिम (BTC) सफलतापूर्वक सम्पन्न भएको छ। जेष्ठ २८ देखि असार २ गते सम्म सञ्चालन भएको तालिम सियारी–७ स्थित श्री त्रिवेणी आधारभूत विद्यालयमा आयोजना गरिएको हो।

तालिमको नेतृत्व राष्ट्रिय स्काउट प्रशिक्षक कृष्ण चालिसेले गर्नुभएको थियो। साथै, लुम्बिनी प्रदेश तालिम आयुक्त खुमाकान्त अधिकारी, चित्र

बहादुर गुरुङ र अर्जुन गौतम सहायक प्रशिक्षकका रूपमा संलग्न थिए।

उक्त तालिममा सियारी गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत १८ जना शिक्षकहरू सहभागी भएका थिए। तालिमको उद्देश्य सहभागी शिक्षकहरूलाई स्काउट आन्दोलनको मूलभूत सिद्धान्त, व्यवहारिक सीप, नेतृत्व विकास तथा राष्ट्रसेवा सम्बन्धी जानकारी प्रदान गर्नु रहेको थियो। प्रशिक्षण अवधिभर स्काउट नियम, अनुशासन, प्राथमिक उपचार, शिविर सञ्चालन, झन्डा शिष्टाचार, मार्चपास, राष्ट्रिय भावना, टोली निर्माण र नेतृत्व, जीवन उपयोगी सीपजस्ता विषयमा अभ्यास गरिएको थियो।

तालिमको समापन अवसरमा आयोजित कार्यक्रम सियारी गाउँपालिका उपाध्यक्ष तथा स्थानीय प्रमुख स्काउट तारा थारुको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक थानेश्वर घिमिरे प्रमुख अतिथि रहनुभएको थियो भने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधीर पौडेल विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा स्थानीय स्काउट सियारीका प्रमुख आयुक्त यमलाल आचार्य, श्री त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा यादव, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू र विभिन्न स्काउट प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सियारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रा.स. शिला पन्थीले गर्नुभएको थियो।

तालिममा सहभागी शिक्षकहरूले स्काउट मूल्य–मान्यता, अनुशासन र सेवाभावप्रति आफूहरू थप प्रेरित भएको र आगामी दिनमा विद्यालयमा स्काउट गतिविधि सशक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

गाउँपालिकाले शिक्षा र व्यक्तित्व विकासको माध्यमका रूपमा स्काउटलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Gagal mengambil konten.