रुपन्देही, मंसिर ११।
रुपन्देहीको सियारी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०८३ अन्तिम चरणमा पुगेको छ। सियारी गाउँपालिका–४, छपियामा जारी प्रतियोगिता अन्तर्गत फाइनल खेलमा वडा नं. २ र वडा नं. ५ बीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल मंसिर १२ बिहान ९ बजे देखि सुरु हुनेछ।
गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक गोपाल ज्ञवालीका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उनले प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाहरूबीच आपसी सद्भाव र खेलभावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।


प्रतियोगितामा सियारी गाउँपालिका अन्तर्गतका सातवटै वडाबाट गरी जम्मा १५ वटा क्रिकेट टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताले गाउँपालिकाभित्रका क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार रुपैयाँसहित उपाधि प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
मंसिर १२ गते सञ्चालन हुने फाइनल खेलमा वडा नं. २ र ५ बीच हुने प्रतिस्पर्धालाई लिएर खेलप्रेमीमा उत्साह बढेको छ।

