रुपन्देही । तमु ह्युला युवा छोँज धी गुरुङ राष्ट्रिय परिषद्, मधवलिया इकाई समितिको आयोजनामा ३३औँ वार्षिकोत्सवको अवसर पारेर छैटौँ पुरुष नकआउट भलिबल प्रतियोगिता तथा सांस्कृतिक साँझ–२०८३ आयोजना हुने भएको छ।
स्वर्गीय ह. क्या. नरबहादुर ल्होंको स्मृतिमा श्रीमती टीपी माया पर्जुस्यो तथा सपरिवारको प्रायोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता कार्तिक ३ गतेदेखि सुरु भई कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ। कार्तिक ३ गते खेल उद्घाटन गरिनेछ भने कार्तिक ५ गते खेल समापनसँगै वार्षिकोत्सव तथा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
मधवलियास्थित तमु समाज भवनमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता रहने आयोजकको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३५ हजार रुपैयाँ र तृतीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, खेलाडीहरूको व्यक्तिगत प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्स विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै मधवलिया इकाई समितिका अध्यक्ष रमेश चम्रु गुरुङले संस्थाको ३३औँ वार्षिकोत्सवलाई खेलकुद तथा सांस्कृतिक गतिविधिसँग जोडेर मनाउन लागिएको बताए। उनले प्रतियोगिताले गुरुङ समुदायको एकता, आपसी सद्भाव र खेलकुद विकासमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
खेल संयोजक डिक प्रसाद पर्जो तमुले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र स्तरीय बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, युवा क्लबका अध्यक्ष देवेन्द्र चम्रु तमुले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलकुदसँगै सांस्कृतिक कार्यक्रमले समुदायबीचको सम्बन्ध र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
आयोजकले प्रतियोगिता तथा सांस्कृतिक साँझमा सहभागी भई कार्यक्रम सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, विभिन्न संघसंस्था तथा सम्पूर्ण शुभेच्छुकहरूलाई आग्रह गरेको छ।



