रुपन्देही, सियारी।
आफूले पढेको विद्यालयप्रतिको माया र आत्मीयता मानिसले जहाँ पुगे पनि बिर्सन सक्दैन भन्ने उदाहरण बनेका छन् रुपन्देहीको सियारी गाउँपालिका–६, रामगञ्ज निवासी सुरेन्द्र गुप्ता।
गुप्ताले सियारी–५, दुर्गापुरस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयका आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीका लागि ३० थान विद्यालय पोसाक (स्कुल ट्र्याक) सहयोग गरेका छन् ।
वि.सं. २०६९ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थी गुप्ता हाल अध्ययनका लागि अस्ट्रेलियामा रहँदै आएका छन्। नेपाल भ्रमणमा आएका बेला आफूले अध्ययन गरेको विद्यालय र त्यहाँ पढिरहेका विद्यार्थीलाई सम्झँदै उहाँले उक्त पोसाक सहयोग गरेका हुन्।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्थापनमा सहजता होस् र उनीहरूलाई पढाइमा थप हौसला मिलोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने गुप्ताले आशा लिएका छन्।

विदेशमा अध्ययन गरिरहे पनि आफ्नो विद्यालय र त्यहाँका विद्यार्थीप्रतिको सम्बन्धलाई आत्मीयताका साथ जोडिराख्नुभएका गुप्ताको यो कदम प्रशंसनीय छ। आफूले शिक्षा हासिल गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्नु उनको सामाजिक जिम्मेवारीबोधसँगै विद्यालयप्रतिको सम्मान र मायाको अभिव्यक्ति पनि हो।
गुप्ताले गरका सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै धन्यवाद दिएको छ। पूर्वविद्यार्थीबाट प्राप्त यस्तो सहयोगले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै अन्य पूर्वविद्यार्थीलाई पनि आफ्नो विद्यालयको शैक्षिक विकासमा साथ दिन प्रेरणा मिल्ने विश्वास विद्यालय परिवारले लिएको छ।
आफूले अध्ययन गरेको विद्यालयलाई सम्झेर विद्यार्थीको आवश्यकता पूरा गर्न गरिएको सानो प्रयासले पनि उनीहरूको अनुहारमा खुसी ल्याउन सक्छ। सुरेन्द्र गुप्ताको यो सहयोग त्यसैको एउटा सकारात्मक उदाहरण बनेको छ।

