लुम्बिनी– लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएको लामो समयपछि आनी छोइङ डोल्मा लुम्बिनी आएकी छन् । बुत्रबार लुम्बिनी आएलगत्तै मायादेवी मन्दिरमा पुजाआजा गरेकी उनले त्यसपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन् ।
गौतमबुद्ध विमानस्थलबाट कडा सुरक्षाका साथ उनलाई लुम्बिनी पु¥याइएको थियो । उनको नियुक्तिलाई लिएर लुम्बिनीमा विरोध भइरहेको थियो । मंगलबार कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषले पूर्णता पाएको थियो । त्यसपछि बुधबार आनी लुम्बिनी आएकी हुन् । कोषाध्यक्ष बज्राचार्य र सदस्य–सचिव सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपघि बसेको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो । सोही बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो । उनीहरु चारै जना रूपन्देहीका हुन् । मायादेवी परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष आनीले सबैको सहकार्यमा लुम्बिनीको विकासमा लागि पर्ने जनाइन् ।
‘हामी सबै टीमले काम गर्ने हो, मैले एक्लै के नै गर्न सक्छु र’, उनले भनिन्, ‘हाम्रो टीम र अन्य सबैको सहयोगमा काम गर्ने हो । यसमा सहकार्य गर्नेछौं ।’ उनले आफूले उपाध्यक्ष पदको जिम्मेवारी पाउनु शौभाग्य भएको जनाइन् ।
उपाध्यक्ष डोल्मा नेपाली नागरिक नभएको र विवादित व्यक्ति भन्दै लुम्बिनी बचाउ महाअभियानले विरोध गर्दै आएको थियो । यसैले पनि उनी नियुक्तिको लामो समय लुम्बिनी आइनन् । बुधबार पनि केही स्थानीय समूह लुम्बिनीको पर्साचोकमा जम्मा भएर विरोध गरेका थिए ।
सुरक्षा कडा पारेर उनलाई गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी लगिएको थियो । आनीलाई विमानस्थल, शान्तिदीप, मायादेवी र कार्यालय परिसरमा स्थानीय, शुभेच्छुक, भिक्षुभिक्षुणी, कोषका पदाधिकारी तथा कर्मचारी, बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था र उद्योगी–व्यापारीले स्वागत गरेका थिए ।

