रूपन्देहीको ऐतिहासिक तथा धार्मिकस्थल बाउन्नकोटी सिद्धधामको संरक्षण, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले श्री ब्रह्मवैवर्त पुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ। आगामी मंसिर २३ गतेदेखि २९ गतेसम्म महायज्ञ सञ्चालन हुने आयोजकले जानकारी दिएको हो।
बाउन्नकोटि सिद्ध धाम चि.म.टि.प. को आयोजनामा हुन लागेको पत्रकार सम्मेलन संस्थाका अध्यक्ष तारा प्रसाद छन्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा धामका संरक्षक गणपति चन्द्रमणि पौडेल, उपाध्यक्ष सुमित्रा घिमिरे, उपाध्यक्ष नरबहादुर पुन, सचिव निलप्रसाद पुनलगायतको उपस्थिति रहेको थियो।
धामको दैनिक पूजाआजा तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने, आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने र धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महायज्ञबाट संकलित सहयोग रकमबाट धाममा सन्त विश्राम तथा ध्यान केन्द्र, शिशुमहल, संग्रहालय र सादु सन्त आश्रम निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै धामसँग जोडिएका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ।
महायज्ञमा प्रखर वक्ता यशस्वी आचार्य श्री कपिलदेव सुवेदीको मुखारविन्दबाट श्रीब्रह्मवैवर्त पुराण कथा वाचन, धार्मिक तथा सांस्कृतिक प्रवचन र संगीतमय भजनकीर्तन हुने कार्यक्रम रहेको छ।
महायज्ञको दैनिक कार्यक्रमअन्तर्गत बिहान ९ बजेदेखि पूजाआजा, अर्चना तथा पाठपारायण, ११ बजेदेखि १२ बजेसम्म संगीतमय भजनकीर्तन, १२ बजेदेखि १२ः३० बजेसम्म गुरु पूजन तथा आरती र १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ।त्यसपछि आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण र साँझ ७ बजेदेखि ९ बजेसम्म भजनकीर्तन सञ्चालन गरिनेछ। मंसीर २९ गते पूर्णाहुति तथा समापन गरिने आयोजकले जनाएको छ।
महायज्ञलाई सफल बनाउन आयोजकले दानदाताका लागि सहयोग रकमअनुसार विभिन्न सम्मान तथा प्रोत्साहनका कार्यक्रमसमेत निर्धारण गरेको छ। जसअनुसार ४९९ रुपैयाँसम्म सहयोग गर्ने दाताको रकम दानपेटिकामा राखिनेछ भने ५०० देखि ४ हजार ९९९ रुपैयाँसम्म सहयोग गर्ने दातालाई रसिद प्रदान गरिनेछ।
त्यस्तै, ५ हजारदेखि ११ हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई रामनामी र सादा फ्रेममा प्रमाणपत्र प्रदान गरिनेछ। ११ हजार १ रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई रामनामी, रुद्राक्षको माला र बुट्टेदार फ्रेममा प्रमाणपत्र प्रदान गर्नुका साथै धामको आजीवन सदस्यता दिइनेछ।
२५ हजार १ रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई दोसल्ला, रुद्राक्षको माला र स्तरीय फ्रेममा प्रमाणपत्र प्रदान गरिनेछ। साथै धामको आजीवन सदस्यता प्रदान गरिने व्यवस्था गरिएको छ।
५० हजार १ रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने दातालाई माथिका सम्मानसहित दम्पतीलाई भजनकीर्तनका साथ यज्ञमण्डपसम्म लगेर सम्मान गरिनेछ। एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दातालाई माथिका सम्पूर्ण सम्मानसहित धामको आजीवन संरक्षक बनाइनेछ। साथै निर्माणाधीन सन्त भवनमा परिवारसहितको तस्बिर राखिने र भजनकीर्तनसहित परिवारजनलाई यज्ञमण्डपसम्म लगेर विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
आयोजकले सम्पूर्ण धर्मप्रेमी, भक्तजन, स्थानीय तह, संघसंस्था, उद्योगी, व्यवसायी तथा आम सर्वसाधारणलाई महायज्ञमा सहभागी भई धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र धामको भौतिक विकासमा सहयोग गर्न आग्रह गरेको छ।

