देवदह, मंसिर ५। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला समितिको आयोजनामा तेस्रो देवदह नगर अधिवेशन–२०८३ शनिबार देवदह–खैरेनीस्थित खेमाँ तमू छोंज धींको खेमाँ धींमा सम्पन्न भएको छ। अधिवेशनले नन्द बहादुर तमूको अध्यक्षतामा ९ सदस्यीय देवदह नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका संस्थापक अध्यक्ष तथा मातृभाषा अभियन्ता भिम प्रसाद तमूको प्रमुख आतिथ्यता र सरोज तमूको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै तमू समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र पुस्तान्तरणमा विद्यार्थी संगठनको भूमिकाबारे महत्वपूर्ण छलफल गरेको छ।

अधिवेशनमा बोल्ने वक्ताहरूले मातृभाषा कुनै पनि समुदायको पहिचान, इतिहास र सभ्यताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए। उनीहरूले तमू समुदायको मौलिक भाषा र सांस्कृतिक सम्पदाको संरक्षणसँगै विद्यार्थीहरूमा शैक्षिक जागरण, सामाजिक चेतना, नेतृत्व क्षमता र संगठनात्मक एकता विकास गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिका प्रचारप्रसार सचिव तेज प्रसाद तमू, सह–कोषाध्यक्ष गौं बहादुर तमू, जिल्ला कार्यसमिति सदस्य बम बहादुर तमू, देवदह नगर समितिका सल्लाहकार देवराज तमू तथा नगर समितिका अध्यक्ष भरत कुमार तमूको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समितिका उपाध्यक्ष तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् देवदह नगर सचिव गोपाल मान तमू, तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् देवदह नगर समितिका अध्यक्ष छमाया तमूस्यो, तमु युवा छोंज धीं देवदह नगर समितिका अध्यक्ष बिश्व तमू, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं बुटवल उपमहानगर समितिका अध्यक्ष मोनिका तमूस्यो, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् सिक्टन इकाई अध्यक्ष दुलमान तमू, खेमाँ तमू छोंज धीं समितिका अध्यक्ष थमन सिंह तमू, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् पेटबानिया इकाई अध्यक्ष साबित्री तमूस्यो, खेमाँ तमू छोंज धीं माङी अध्यक्ष कमला तमूस्यो तथा खेमाँ तमू छोंज धीं युवा अध्यक्ष खेम बहादुर तमूको उपस्थिति रहेको थियो।
अधिवेशनमा विभिन्न इकाईबाट सहभागी आमा–बुवा, तमू विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले तमू समुदायको भाषा, संस्कृति र परम्परालाई भावी पुस्तासम्म जीवन्त राख्न विद्यार्थी तथा युवाहरूलाई संगठित गर्दै विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए। साथै विद्यार्थी संगठनलाई शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा थप सक्रिय बनाउँदै समुदायको समग्र विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए।
नन्द बहादुर तमूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति
अधिवेशनबाट नन्द बहादुर तमूको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिम तमू, सचिवमा बिमल कुमार तमू, कोषाध्यक्षमा भूमिका तमूस्यो र सह–सचिवमा असिम तमू चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा ओकेश तमू, रचना तमूस्यो, दिपिका तमूस्यो र जिसन तमू चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले देवदह क्षेत्रका तमू विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा नेतृत्व क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ। साथै तमू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र ऐतिहासिक पहिचान संरक्षणको अभियानमा विद्यार्थी तथा युवाहरूको सहभागिता विस्तार गर्दै संगठनलाई थप सशक्त बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ।
तेस्रो देवदह नगर अधिवेशनले नयाँ नेतृत्व चयनसँगै तमू विद्यार्थीहरूको संगठनात्मक एकता, संस्थागत विकास र सांस्कृतिक पहिचान संरक्षणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति सचेत बनाउँदै समुदायको मौलिकता जोगाउने अभियानमा सक्रिय रूपमा जोडिनसमेत सन्देश दिएको छ।

