रुपन्देही ।
सियारी गाउँपालिका वडा नं. ७ निवासी मुन्निदेवी उपाध्यायका श्रीमान शारीरिक रूपमा अशक्त टिकाराम उपाध्यायलाई दैनिक आवागमनमा सहजता प्रदान गर्ने उद्देश्यले सियारी गाउँपालिकाले एक थान ह्वीलचेयर हस्तान्तरण गरेको छ ।
शारीरिक अशक्तताका कारण हिँडडुल गर्न कठिनाइ भोग्दै आउनुभएका उपाध्यायलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो । ह्वीलचेयर प्राप्त भएसँगै उहाँको दैनिक आवागमन सहज हुनुका साथै व्यक्तिगत जीवनयापनमा समेत सहयोग पुग्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
गाउँपालिकाले शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका तथा विभिन्न कारणले सहयोगको आवश्यकता रहेका नागरिकको जीवन सहज बनाउन यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
स्थानीय नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता मानवीय सहयोगले लक्षित वर्गको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय सरकार नागरिकको सुखदुःखमा साथमा रहेको अनुभूति गराउने विश्वास गरिएको छ ।

