नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्तरीय निर्णयबाट लायन्स क्लब अफ सेन्टिनियलका पूर्व अध्यक्ष तथा Lions International District 325 P का Senior Advisor लायन दिपक कौशल लुम्बिनी विकास कोषको कार्यसमिति सदस्यमा नियुक्त भएका छन्।
लुम्बिनी विकास कोषको कार्यसमितिमा सदस्यका रूपमा जिम्मेवारी पाउने निर्णयसँगै कौशलले अब लुम्बिनी क्षेत्रको विकास, संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापनसँग सम्बन्धित कार्यमा संस्थागत रूपमा भूमिका निर्वाह गर्नेछन्।
कौशलको नियुक्तिसँगै लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासका क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति, आध्यात्मिकता तथा पर्यटनको केन्द्रका रूपमा थप प्रवर्द्धन गर्न कोषले अघि बढाउने योजना तथा कार्यक्रमहरूमा उनको भूमिका रहनेछ।
लायन्स अभियानमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कौशलको नियुक्तिलाई लायन्सकर्मी तथा शुभेच्छुकहरूले पनि चासोका साथ लिएका छन्।
लुम्बिनी विकास कोष बुद्ध जन्मस्थल लुम्बिनीका साथै देवदह, रामग्राम स्तूप र कपिलवस्तुका महत्वपूर्ण बौद्ध सम्पदाको संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेको संस्था हो। यस्तो महत्वपूर्ण संस्थाको परिषद् सदस्यमा कौशलको नियुक्तिले यस क्षेत्रको विकासमा थप सहकार्य र योगदानको अवसर सिर्जना गरेको छ।


