रुपन्देही ।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सियारी गाउँपालिका–६, बर्दहवा स्थित श्री दुर्गा देवी मन्दिरमा आगामी कार्तिक १९ गते भजन कार्यक्रम आयोजना हुने भएको छ ।
भजन शुद्धोधन टोलीसँगको छलफल तथा समन्वयपछि ध्रुवतारा युवा क्लबको व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष सुरज घिमिरेले जनाएका छन् ।
भजन शुद्धोधन टोलीको स्थापना वि.सं. २०८२ सालमा भएको हो । स्थापना कालदेखि नै धार्मिक भजन, कीर्तन तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको यस टोलीले हालसम्म रुपन्देहीसहित विभिन्न स्थानमा ४० भन्दा बढी भजन कार्यक्रम सम्पन्न गरिसकेको छ ।
धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तामा भजन तथा कीर्तनप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले टोलीले विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।
बर्दहवामा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक वातावरण निर्माण गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक संरक्षणमा समेत योगदान पुर्याउने भजन टोलीका सदस्य संगम न्यौपानेले जानकारी दिएका छन् ।
आयोजकले सम्पूर्ण भक्तजन, धर्मप्रेमी तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई भजन–कीर्तनको आनन्द लिन र कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ ।

