समाचार
माध्यमिक शिक्षक संगठन (HISTUN) रुपन्देही जिल्ला अधिवेशन सम्पन्न, दिपक बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
रुपन्देही।
माध्यमिक शिक्षक संगठन नेपाल (HISTUN) रुपन्देहीको जिल्ला अधिवेशन शनिबार बुटवलस्थित नवीन औद्योगिक कदर बहादुर रीता माविमा सम्पन्न भएको छ। अधिवेशनले दिपक बस्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
अधिवेशन मित्रबन्धु गौडेलको अध्यक्षता तथा माध्यमिक शिक्षक संगठनका केन्द्रीय सह–अध्यक्ष युवराज न्यौपाने प्रमुख अतिथि एवं नविन औद्योगिक माध्यमिक विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो ।
प्रमुख अतिथि न्यौपानेले शिक्षकहरूको पेसागत निरन्तरता, रोजगारीको सुरक्षा र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकले लामो समयसम्म शिक्षण पेसामा योगदान पुर्याए पनि अवकाशपछिको जीवन सुरक्षित र सम्मानजनक बनाउन आवश्यक व्यवस्था हुनुपर्ने बताउनुभयो।
उहाँले शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई महत्त्वका साथ अघि बढाउनुपर्ने धारणा राख्दै शिक्षकको भविष्य सुरक्षित गर्न राज्य, सम्बन्धित निकाय र शिक्षक संगठनबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। शिक्षकको पेसागत स्थायित्व र सामाजिक सुरक्षाको सुनिश्चितताले शिक्षण पेसाप्रति आकर्षण बढाउनुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत योगदान पुर्याउने उहाँको भनाइ थियो।
अधिवेशनबाट उपाध्यक्षमा ध्रुव बस्याल, महिला उपाध्यक्षमा सपना भट्टराई, सचिवमा इ. बिमल अर्याल, सह–सचिवमा होमनाथ कँडेल र कोषाध्यक्षमा विष्णु न्यौपाने चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा शिवप्रसाद अर्याल, लक्ष्मण प्र. पाठक, दिपक तिवारी, भोजराज पौडेल, गिरिराज अर्याल, नारायण शर्मा, राममिलन यादव, करुणा थापा, ध्रुवनारायण प्रजापति र आस्विनी कुमारी सिंह चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष दिपक बरालको नेतृत्वमा जिल्ला कार्यसमितिले शिक्षकका पेसागत समस्या समाधान, सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल तथा गुणस्तरीय शिक्षाको विकासमा योगदान पुर्याउने तवरले संगठनलाई अगाडी बढाउने प्रतिबद्धता जनाएको छ।





