Skip to content

समाचार

घटस्थापनाको शुभमुहूर्तमा ‘झरे शिवाजी’ भक्तिमय भजन सार्वजनिक

Author

Share
घटस्थापनाको शुभमुहूर्तमा ‘झरे शिवाजी’ भक्तिमय भजन सार्वजनिक

रुपन्देही ।

नेपाली मौलिकता र शिवभक्तिमा आधारित नयाँ नेपाली भक्तिमय भजन ‘झरे शिवाजी’ घटस्थापनाको शुभमुहूर्त पारेर सार्वजनिक गरिएको छ। भगवान् शिवप्रति समर्पित उक्त भजनको आधिकारिक म्युजिक भिडियोले धार्मिक आस्था, भक्ति र नेपाली संस्कृतिलाई समेटेको छ।

विष्णु प्रसाद पौडेलको स्वर रहेको भजनमा कालिदास खनाल, विष्णु देवी खनाल र राधा भुसालले कोरस स्वर दिएका छन्। बाल कलाकार डेभसन पौडेलको समेत स्वर रहेको भजनको संगीत, संगीत संयोजन तथा रेकर्डिङ कृष्ण सुवेदीले गरेका हुन्। गीतको रेकर्डिङ तिलोत्तमा–१, नयाँमिल स्थित गोपाल दास स्टुडियोमा गरिएको हो।

भजनको म्युजिक भिडियो रुपन्देहीका विभिन्न धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानमा छायांकन गरिएको छ। शुद्धोधन गाउँपालिका–५ स्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर, दरबाहा तथा बुटवलस्थित पिस पार्कलगायतका क्षेत्रमा भिडियोको छायांकन गरिएको हो। धार्मिक स्थलहरूको प्राकृतिक र सांस्कृतिक परिवेशले भिडियोमा भक्तिमय वातावरण प्रस्तुत गरेको छ।

भिडियोमा विमला पौडेल मुख्य मोडलका रूपमा देखिएकी छन्। सरोज ढकालले भिडियो निर्देशन गरेका छन् भने दीपिका पौडेल ढकालले नृत्य निर्देशन गरेकी छन्। कोरस नृत्यमा मञ्जु आचार्य, तारा के.सी., प्रतीक्षा गिरी, पार्वती गौडेल, अर्जु ढकाल र इस्मा आचार्य सहभागी छन्।

भिडियोमा निशान्त पोखरेलले भगवान् शिव, दीपिका पौडेल ढकालले पार्वती, कालिदास खनालले गणेश तथा अन्य कलाकारले शिवगण, कुमार र ब्रह्मालगायतका भूमिका निर्वाह गरेका छन्। गीतका शब्द के.पी. भण्डारीले रचना गरेका हुन्।

भजनको पोस्ट प्रोडक्सन हेलो नेपाल मिडिया प्रा.लि.ले गरेको हो। घटस्थापनाको पावन अवसर पारेर सार्वजनिक गरिएको ‘झरे शिवाजी’ले नेपाली भक्तिमय संगीतमार्फत धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

शिवभक्तिमा आधारित यस भजनको म्युजिक भिडियोले नेपाली धार्मिक संगीतप्रेमी दर्शक तथा श्रोतामाझ स्थान बनाउने विश्वास निर्माण टोलीले लिएको छ।