Skip to content

समाचार

पश्चिम अमवा खानेपानी संस्थाद्वारा ११३ उपभोक्तालाई खानेपानी शिक्षा तथा सरसफाइ सामग्री वितरण

Author

Share
पश्चिम अमवा खानेपानी संस्थाद्वारा ११३ उपभोक्तालाई खानेपानी शिक्षा तथा सरसफाइ सामग्री वितरण

पन्देही।

पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ सामग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

सियारी गाउँपालिका–७ स्थित समयमाई माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वैशाख २०८३ महिनाभरि खानेपानीको धारा जडान गरेका करिब ११३ जना उपभोक्तालाई खानेपानी शिक्षा तथा सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको हो।

संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा नयाँ धारा जडान गरेका उपभोक्तालाई स्वच्छ खानेपानीको महत्त्व, खानेपानीको सुरक्षित प्रयोग, पानीजन्य रोगबाट बच्ने उपाय तथा व्यक्तिगत र घरायसी सरसफाइसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

साथै, सरसफाइसम्बन्धी व्यवहारलाई दैनिक जीवनमा अपनाउन प्रेरित गर्ने उद्देश्यले उपभोक्तालाई आवश्यक सामग्री वितरण गरिएको थियो। स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै त्यसको सुरक्षित प्रयोग र सरसफाइमा ध्यान दिन सके विभिन्न प्रकारका पानीजन्य रोगबाट बच्न सकिने भएकाले संस्थाले उपभोक्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमले नयाँ धारा जडान गरेका उपभोक्तालाई खानेपानीको उचित व्यवस्थापन, स्वच्छता र सरसफाइप्रति सचेत बनाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उपभोक्तालाई स्वच्छ, सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।