Skip to content

पालिका खबर

सियारीमा ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य जाँच सम्पन्न

Author

Share
 सियारीमा ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य जाँच सम्पन्न

रुपन्देही । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका व्यक्तिहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरेको छ।

‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने नाराका साथ असोज १५ गते बिहीबार सियारी गाउँपालिका वडा नं. ४ सिसनियास्थित सामुदायिक हलमा कार्यक्रम सञ्चालन गरिएको हो। सियारी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण, ज्वरो जाँच, मधुमेह परीक्षण, पिसाब परीक्षण, रक्तचाप जाँच तथा खकार सङ्कलन गरिएको थियो। त्यसैगरी, नियमित रूपमा सेवन गरिरहेका औषधिको अवस्थाबारे अनुगमन, आवश्यक स्वास्थ्य सल्लाह तथा परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो।

कार्यक्रममा सियारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्ती, सियारी आधारभूत अस्पताल छपियाका इन्चार्ज प्रेमनारायण सुवेदी, अहेव हरिद्वार चौधरी तथा अनमी झरना बत्रा थारुलगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको पहिचान गरी आवश्यक उपचार तथा परामर्श प्रदान गर्ने उद्देश्य राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सियारी गाउँपालिकाले ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवाअन्तर्गत वार्षिक रूपमा करिब २ हजार २०० देखि २ हजार ३०० जनासम्मलाई सेवा प्रदान गर्दै आएको छ। उमेर बढ्दै जाँदा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान, नियमित औषधि सेवनको अनुगमन र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षा, सम्मानजनक जीवनयापन तथा घरनजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।