समाचार
तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीको ४७औँ वार्षिक साधारणसभा सम्पन्न
रुपन्देही । तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्यसमिति रुपन्देहीको ४७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला कार्यसमितिका अध्यक्ष श्री राम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न सभामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रीय समितिका उपमहासचिव श्री मिलन गुरुङ्ग प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
सभामा गुरुङ्ग समुदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र पुस्तान्तरणलाई प्राथमिकताका साथ उठाइएको थियो। आधुनिकता र बदलिँदो सामाजिक परिवेशसँगै मौलिक पहिचान तथा सांस्कृतिक मूल्य–मान्यतामाथि देखिएका चुनौतीलाई सामना गर्न समुदायभित्र एकता, जागरण र संगठित प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा जिल्ला अध्यक्ष राम बहादुर गुरुङ्गले आफ्नो कार्यकालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमार्फत जिल्ला कार्यसमितिले वर्षभरि सञ्चालन गरेका सामाजिक, सांस्कृतिक, संगठनात्मक तथा समुदाय केन्द्रित गतिविधिहरूको विवरण प्रस्तुत गरिएको थियो। त्यस्तै, कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत सभामा प्रस्तुत गरी संस्थाको आर्थिक अवस्था, आम्दानी तथा खर्चसम्बन्धी विवरण जानकारी गराइएको थियो।
सभाले गुरुङ्ग समुदायको हक, हित र अधिकारका विषयलाई संस्थागत रूपमा अघि बढाउँदै शिक्षा, रोजगारी, सामाजिक न्याय, समान अवसर, राजनीतिक तथा राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर पहल गर्नुपर्ने आवश्यकता औँल्याएको थियो। आदिवासी जनजातिका मौलिक अधिकार, पहिचान, प्रतिनिधित्व र सामाजिक समावेशिताका सवालमा पनि समुदायको संगठित भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो।
त्यसैगरी, गुरुङ्ग समुदायलाई आफ्नो ऐतिहासिक थातथलो, मौलिक संस्कृति, परम्परा र सामुदायिक जीवनसँग जोड्दै मूलवासी तथा आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र इतिहाससँग जोड्न प्रशिक्षण, सांस्कृतिक कार्यक्रम, विद्यार्थी तथा युवा सहभागिता र ज्ञान हस्तान्तरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।

सभामा ३७ वटा ईकाई समितिका अध्यक्षलगायत प्रतिनिधिहरू, जिल्ला माङी, विद्यार्थी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माया गुरुङ्ग, झपट बहादुर गुरुङ्ग, गंगा गुरुङ्ग, बिमला गुरुङ्ग, भिम गुरुङ्ग, चन्द्र बहादुर गुरुङ्ग, राजु गुरुङ्ग (बक्सर), लाल बहादुर गुरुङ्ग, सिद्धार्थ गुरुङ्ग, सरोज गुरुङ्ग, चित्र गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, मन प्रसाद गुरुङ्ग, चीन बहादुर गुरुङ्ग र राजेन्द्र सिंह गुरुङ्गलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य श्री आशा गुरुङ्गले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन श्री ईश्वर गुरुङ्गले गर्नुभएको थियो।
४७औँ वार्षिक साधारणसभाले गुरुङ्ग समुदायको धर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षणसँगै सामाजिक एकता, संगठन सुदृढीकरण, हक–हितको संरक्षण तथा आदिवासी जनजातिको अधिकारका लागि सामूहिक आवाजलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सभाले नयाँ पुस्ताको सक्रिय सहभागितासहित तमु समुदायको मौलिक पहिचान र अधिकारलाई आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने दिशामा संस्थागत अभियानलाई निरन्तरता दिने सन्देशसमेत दिएको छ।




