कात्तिक २१, तिलोत्तमा १४ का टिकुली गढ गाइज र लालीगुराँस आमा समूहले संयुक्त रुपमा सृजनशील संस्था नेपाल लाई शैक्षिक सामाग्री, खाद्यान्न र दैनिक उपयोग सामाग्री वितरण गरिएको छ । लालीगुराँस आमा समूहकी अध्यक्ष रामाशोभा पुन को अध्यक्षतामा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको प्रमुख आतिथ्यमा उक्त सामाग्री वितरण गरिएको थियो । कार्यक्रम को संयोजक दीपक श्रीस मगरले गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर युवा संघ तिलोत्तमा नगर समिति अध्यक्ष जीवन बुढाथीकि लगायत को उपस्थित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रवि सेन्चुरीको व्यक्तिको विकासमा राज्य र समाजको महत्वपूर्ण भूमिका हुने भएकाले हरेक व्यक्तिले सक्दो सामाजिक उत्तरदायित्व निभाउन जरुरी रहेको र राज्यले मौलिक हक अन्तरगत शिक्षा, स्वास्थ्य , गास, बास र कपासको ग्यारेन्टी राज्यले गरेता पनि त्यसकालागि सबैले भूमिका निभाउनु पर्ने बताए । आफूहरुले विभिन्न सृजनशील कार्यक्रम मार्फत विद्यार्थी, बालबालिका र युवालाई जोड्दै अघि बढेको कार्यक्रम संयोजक दीपक श्रीस बताए । कार्यक्रम को सञ्चालन आमा समूहको सदस्य शान्ति पुन मगरले गरेकी थिइन् ।
रुपन्देही । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सियारी गाउँपालिका–६, बर्दहवा स्थित श्री दुर्गा देवी मन्दिरमा आगामी कार्तिक १९ गते भजन कार्यक्रम आयोजना हुने भएको छ । भजन शुद्धोधन टोलीसँगको छलफल तथा समन्वयपछि ध्रुवतारा युवा क्लबको व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष सुरज घिमिरेले जनाएका छन् । भजन शुद्धोधन टोलीको स्थापना वि.सं. २०८२ सालमा भएको हो । स्थापना कालदेखि नै धार्मिक भजन, कीर्तन तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको यस टोलीले हालसम्म रुपन्देहीसहित विभिन्न स्थानमा ४० भन्दा बढी भजन कार्यक्रम सम्पन्न गरिसकेको छ । धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तामा भजन तथा कीर्तनप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले टोलीले विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ । बर्दहवामा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक वातावरण निर्माण गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक संरक्षणमा समेत योगदान पुर्याउने भजन टोलीका सदस्य संगम न्यौपानेले जानकारी दिएका छन् । आयोजकले सम्पूर्ण भक्तजन, धर्मप्रेमी तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई भजन–कीर्तनको आनन्द लिन र कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ ।
रुपन्देही । सियारी गाउँपालिका वडा नं. ७ निवासी मुन्निदेवी उपाध्यायका श्रीमान शारीरिक रूपमा अशक्त टिकाराम उपाध्यायलाई दैनिक आवागमनमा सहजता प्रदान गर्ने उद्देश्यले सियारी गाउँपालिकाले एक थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । शारीरिक अशक्तताका कारण हिँडडुल गर्न कठिनाइ भोग्दै आउनुभएका उपाध्यायलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो । ह्वीलचेयर प्राप्त भएसँगै उहाँको दैनिक आवागमन सहज हुनुका साथै व्यक्तिगत जीवनयापनमा समेत सहयोग पुग्ने अध्यक्ष घिमिरेले बताउनुभयो । गाउँपालिकाले शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका तथा विभिन्न कारणले सहयोगको आवश्यकता रहेका नागरिकको जीवन सहज बनाउन यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । स्थानीय नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता मानवीय सहयोगले लक्षित वर्गको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय सरकार नागरिकको सुखदुःखमा साथमा रहेको अनुभूति गराउने विश्वास गरिएको छ ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्तरीय निर्णयबाट लायन्स क्लब अफ सेन्टिनियलका पूर्व अध्यक्ष तथा Lions International District 325 P का Senior Advisor लायन दिपक कौशल लुम्बिनी विकास कोषको कार्यसमिति सदस्यमा नियुक्त भएका छन्। लुम्बिनी विकास कोषको कार्यसमितिमा सदस्यका रूपमा जिम्मेवारी पाउने निर्णयसँगै कौशलले अब लुम्बिनी क्षेत्रको विकास, संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापनसँग सम्बन्धित कार्यमा संस्थागत रूपमा भूमिका निर्वाह गर्नेछन्। कौशलको नियुक्तिसँगै लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासका क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति, आध्यात्मिकता तथा पर्यटनको केन्द्रका रूपमा थप प्रवर्द्धन गर्न कोषले अघि बढाउने योजना तथा कार्यक्रमहरूमा उनको भूमिका रहनेछ। लायन्स अभियानमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कौशलको नियुक्तिलाई लायन्सकर्मी तथा शुभेच्छुकहरूले पनि चासोका साथ लिएका छन्। लुम्बिनी विकास कोष बुद्ध जन्मस्थल लुम्बिनीका साथै देवदह, रामग्राम स्तूप र कपिलवस्तुका महत्वपूर्ण बौद्ध सम्पदाको संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेको संस्था हो। यस्तो महत्वपूर्ण संस्थाको परिषद् सदस्यमा कौशलको नियुक्तिले यस क्षेत्रको विकासमा थप सहकार्य र योगदानको अवसर सिर्जना गरेको छ।
रुपन्देही , कार्तिक १४ रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित श्री समीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा ५ औं निर्वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षता र संस्थापक अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रममा उपाध्यक्ष कमल प्रसाद थारुले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सञ्चालक समिति सदस्य सुदर्शन पौडेलले गरेका थिए । कार्यक्रममा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रतिमा नेपालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।त्यसै अवसरमा संस्थाका सल्लाहकार ध्रुव नेपाल र वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष माधब नेपालले राज्यले लागू गरेका अप्ठ्यारा नीतिका कारण सहकारी सञ्चालनमा चुनौती थपिएको बताउँदै सहकारीलाई सफल बनाउन नयाँ योजना सहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । साधारण सभाकै अवसरमा उत्कृष्ट बाल बचतकर्ता, ८० वर्ष नाघेका जेष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीतर्फ विनोद कुमार बनियालाई सम्मान गरिएको थियो। संस्थाका अनुसार हाल संस्थामा कुल १ हजार ३०९ जना शेयर सदस्य आबद्ध छन् जसमा ७१२ जना महिला र ५९७ जना पुरुष छन्। शनिबार सम्पन्न सहकारीको १४ औं वार्षिक साधारण सभा तथा ५ औ निर्वाचनबाट सर्वसम्मत रुपमा नरेश्वर गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ। जसको उपाध्यक्षमा प्रतिमा नेपाल, सचिवमा संजय कुमार गुप्ता (भुज), कोषाध्यक्षमा बृजेश कुमार बनिया रहेका छन् भने सदस्यहरुमा एकदेव सापकोटा, विमला नेपाल, जीवन शर्मा, टिका कार्की र सविता खड्का चयन भएका छन। त्यस्तै लेखा समितिको संयोजकमा थानेश्वर भुर्तेल र सदस्यहरुमा प्रेमनारायण यादव र विष्णुमाया गुरुङ चयन भएका छन् । निर्वाचन मण्डलको उपसमिति संयोजकमा बिष्णु भट्टराई रहेका थिए भने सदस्यहरुमा हेमन्त चौधरी र हरिद्वार गुप्ता रहेका थिए ।
कास्की। गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान तथा गाउँको प्राकृतिक सुन्दरतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको ‘लुम्रे गाउँ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका मेलिना राईको स्वर रहेको गीतमा राम प्रसाद गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको शब्द सिर्जनामा पासाङ गुरुङ (कान्छा) ले सहयोग गरेका छन्। गीतमा आन्दे गुरुङ (काले), रामप्रसाद गुरुङ, उषा गुरुङ र ममता गुरुङको पृष्ठभूमि स्वर रहेको छ। बुद्धराज बज्राचार्यले पोखरास्थित बार डिजिटल स्टुडियोमा गीतको मिक्सिङ गरेका हुन् भने तेजेन्द्र गुरुङले काठमाडौंस्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा एरेन्जको जिम्मेवारी सम्हालेका छन्। म्युजिक भिडियोमा सेरिना गुरुङ मुख्य मोडलका रूपमा देखिएकी छन्। रामप्रसाद गुरुङ र एलिशा गुरुङले सहायक कलाकारका रूपमा अभिनय गरेका छन्। भिडियोको निर्देशन जस्सु गुरुङले गरेका हुन् भने निकोलस गुरुङले डीओपी तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्। आकर्षण आचार्यले छायांकन, बिनिता गुरुङले मेकअप र लाइनअप स्टुडियोजले पोस्ट–प्रोडक्सनको काम गरेको छ। भिडियोमा जलन गुरुङको नृत्य निर्देशन रहेको छ। शिव गुरुङ र दिलमाया गुरुङ निर्माता रहेको यस म्युजिक भिडियोमा १६ जना कोरस नृत्य कलाकारको सहभागिता रहेको छ। गीत तथा भिडियो निर्माणमा स्थानीय कलाकार र सिर्जनात्मक टोलीको सहकार्य देख्न सकिन्छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, लुम्रेमा केन्द्रित यस सांगीतिक प्रस्तुतिले स्थानीय भूगोल, संस्कृति र पहिचानलाई व्यापक दर्शकमाझ पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीत निर्माणमा नव निश्चल युवा क्लब तथा मिर्मिरे आमा समूहले समेत सहयोग गरेका छन्। ‘लुम्रे गाउँ’ म्युजिक भिडियोले नेपाली मौलिक संगीतप्रेमी दर्शक तथा गुरुङ समुदायका दर्शकमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ। भिडियो लिंक: https://www.youtube.com/watch?v=hrHVumaaIro
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका–७, अमवास्थित उत्तम महिला कृषि सहकारी संस्था लिमिटेडले दुवै मिर्गौला फेल भएका स्थानीय बासिन्दा हरि बनियाको उपचारका लागि नगद रु. ७ हजार १५५ आर्थिक सहयोग गरेको छ। सहकारी संस्थाले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै जीवनमरणको दोसाँधमा रहेका बनियाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। सहकारी संस्थाकी अध्यक्ष सुदिक्षा खरेलले यस्तो कठिन परिस्थितिमा पीडितलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउँदै सहयोगी मन भएका सम्पूर्ण व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि अघि बढ्न आग्रह गर्नुभयो। सियारी गाउँपालिका–७, अमवाका निवासी हरि बनियाका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। चिकित्सकको सल्लाहअनुसार उहाँको जीवनरक्षाका लागि तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले ठूलो रकम आवश्यक परेको छ। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा बनियाको जीवनरक्षाका लागि परिवारले सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। यस कठिन घडीमा सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो योगदान पुर्याउन सक्ने भएकाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, सामाजिक संघसंस्था, व्यवसायी, समाजसेवी तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ। मानवीयता नै सबैभन्दा ठूलो धर्म हो। हरि बनियाको जीवनरक्षाका लागि तपाईंको सानो सहयोग पनि अमूल्य बन्न सक्छ। आउनुहोस्, सबै मिलेर उहाँको उपचारमा सहयोग गरौँ। सहयोग गर्नका लागि ज्योति विकास बैंक खाता नं 06501200253939000001 सम्पर्क नं: 9827466080
रुपन्देही, असोज २८। रुपन्देहीको सियारी गाउँपालिका–६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका उर्मिला भट्टराईको महत्त्वपूर्ण व्यक्तिगत तथा शैक्षिक कागजातहरू रहेको साइडब्याग हराएको छ। असोज २८ गते बुधबार मणिग्रामबाट सौराहा, बेतहानी, अमुवा हुँदै विद्यालय आउने क्रममा भट्टराईको साइडब्याग हराएको हो। हराएको झोलाभित्र निजकै नाममा रहेका महत्त्वपूर्ण व्यक्तिगत तथा शैक्षिक कागजातहरू रहेको जनाइएको छ। मणिग्रामदेखि सौराहा, बेतहानी, अमुवा हुँदै बर्दहवासम्मको उक्त सडकखण्डमा यात्रा गर्ने क्रममा कसैले झोला फेला पारेको भए सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन आग्रह गरिएको छ। झोला फेला पार्ने वा त्यसबारे कुनै जानकारी पाउने व्यक्तिलाई मनिषा पौडेल, पूजा पाण्डे वा प्रकाश पाण्डेमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, फेला परेको झोला विद्यालय प्रशासनमा बुझाएर सहयोग गरिदिन पनि अनुरोध गरिएको छ। हराएका कागजातहरू सम्बन्धित व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले झोला फिर्ता गरिदिने सहयोगी व्यक्तिलाई उचित धन्यवाद सहित पुरस्कारको व्यवस्था गरिने जनाइएको छ। सम्पर्क नम्बरहरू: मनिषा पौडेल: ९८४७०९७९३७ पूजा पाण्डे: ९८२४४०२०४८ प्रकाश पाण्डे: ९८४७२२७६५९ हराएको झोला फेला पार्ने वा त्यसबारे जानकारी हुने जोकोहीलाई उल्लिखित सम्पर्क नम्बरमा जानकारी गराई सहयोग गरिदिन अनुरोध गरिएको छ।
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, भुजौली स्थित सहर्ष बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा (एकीकरण पश्चात् तेस्रो साधारण सभा) तथा सहर्ष मार्ट एवं नवनिर्मित भवन उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटनमन्त्री माननीय तुलसी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो। त्यसैगरी शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं. २ का अध्यक्ष कमल खड्का, जिल्ला सहकारी सङ्घका अध्यक्ष भीम तुलाचन तथा महासचिव दामोदर पंगेनी लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नयाँ भवन तथा मार्ट सञ्चालनमा आएसँगै संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने र सदस्यहरूलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यसै सन्दर्भमा सहर्ष बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत संरचना विस्तार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नवनिर्मित भवन तथा मार्ट सञ्चालनमा ल्याएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, सहकारीकर्मी, संस्थाका सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। नवनिर्मित भवन तथा सहर्ष मार्टको उद्घाटन र वार्षिक साधारण सभाले संस्थाको भावी प्रगति, संस्थागत सुदृढीकरण तथा सदस्यकेन्द्रित सेवा विस्तारमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
रुपन्देही । नेपाली मौलिकता र शिवभक्तिमा आधारित नयाँ नेपाली भक्तिमय भजन ‘झरे शिवाजी’ घटस्थापनाको शुभमुहूर्त पारेर सार्वजनिक गरिएको छ। भगवान् शिवप्रति समर्पित उक्त भजनको आधिकारिक म्युजिक भिडियोले धार्मिक आस्था, भक्ति र नेपाली संस्कृतिलाई समेटेको छ। विष्णु प्रसाद पौडेलको स्वर रहेको भजनमा कालिदास खनाल, विष्णु देवी खनाल र राधा भुसालले कोरस स्वर दिएका छन्। बाल कलाकार डेभसन पौडेलको समेत स्वर रहेको भजनको संगीत, संगीत संयोजन तथा रेकर्डिङ कृष्ण सुवेदीले गरेका हुन्। गीतको रेकर्डिङ तिलोत्तमा–१, नयाँमिल स्थित गोपाल दास स्टुडियोमा गरिएको हो। भजनको म्युजिक भिडियो रुपन्देहीका विभिन्न धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानमा छायांकन गरिएको छ। शुद्धोधन गाउँपालिका–५ स्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर, दरबाहा तथा बुटवलस्थित पिस पार्कलगायतका क्षेत्रमा भिडियोको छायांकन गरिएको हो। धार्मिक स्थलहरूको प्राकृतिक र सांस्कृतिक परिवेशले भिडियोमा भक्तिमय वातावरण प्रस्तुत गरेको छ। भिडियोमा विमला पौडेल मुख्य मोडलका रूपमा देखिएकी छन्। सरोज ढकालले भिडियो निर्देशन गरेका छन् भने दीपिका पौडेल ढकालले नृत्य निर्देशन गरेकी छन्। कोरस नृत्यमा मञ्जु आचार्य, तारा के.सी., प्रतीक्षा गिरी, पार्वती गौडेल, अर्जु ढकाल र इस्मा आचार्य सहभागी छन्। भिडियोमा निशान्त पोखरेलले भगवान् शिव, दीपिका पौडेल ढकालले पार्वती, कालिदास खनालले गणेश तथा अन्य कलाकारले शिवगण, कुमार र ब्रह्मालगायतका भूमिका निर्वाह गरेका छन्। गीतका शब्द के.पी. भण्डारीले रचना गरेका हुन्। भजनको पोस्ट प्रोडक्सन हेलो नेपाल मिडिया प्रा.लि.ले गरेको हो। घटस्थापनाको पावन अवसर पारेर सार्वजनिक गरिएको ‘झरे शिवाजी’ले नेपाली भक्तिमय संगीतमार्फत धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। शिवभक्तिमा आधारित यस भजनको म्युजिक भिडियोले नेपाली धार्मिक संगीतप्रेमी दर्शक तथा श्रोतामाझ स्थान बनाउने विश्वास निर्माण टोलीले लिएको छ। भिडियो लिंक https://www.youtube.com/watch?v=GG4lrFuhlSY
रुपन्देही ज्ञान, नेतृत्व क्षमता तथा भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा तमू विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही, २०८३ असोज २४ गते। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति रुपन्देहीले “ज्ञान, नेतृत्व क्षमता तथा भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणप्रति चेतना अभिवृद्धि” भन्ने मूल नाराका साथ तमू विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो। “सम्पूर्ण तमू (गुरुङ) विद्यार्थी एकजुट होऔँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले तमू विद्यार्थीहरूमा शैक्षिक जागरण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा आफ्नो जातीय पहिचानप्रतिको चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं रुपन्देही जिल्ला अध्यक्ष श्री सरोज तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष श्री राम बहादुर तमू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशका सचिव श्री आशिष तमू ‘सागर’ मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देहीका प्रचार सचिव श्री तेज प्रसाद तमू, माङी अध्यक्ष श्री बबिता तमूस्यो, बुटवल नगर सचिव श्री सुन्दर तमू तथा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं रुपन्देहीका पूर्व अध्यक्ष श्री पोबिन्द्र तमूलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। साथै, बुटवल नगर क्षेत्रका तमू विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य प्रशिक्षक श्री आशिष तमू ‘सागर’ले विद्यार्थी जीवनमा ज्ञान, अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीहरू केवल आफ्नो व्यक्तिगत भविष्य निर्माणमा मात्र सीमित नभई समाज, समुदाय र राष्ट्रको विकासमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो। त्यसैगरी, भाषा, संस्कृति, मौलिक परम्परा र जातीय पहिचानको संरक्षण तथा पुस्तान्तरणमा युवा विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण रहने विषयमा समेत अभिमुखीकरण गरिएको थियो। कार्यक्रमले तमू समुदायका विद्यार्थीहरूबीच आपसी एकता, सहकार्य, भाइचारा र संगठनप्रतिको अपनत्व अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आफ्नो मातृभाषा, धर्म, संस्कार, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षण गर्दै आधुनिक शिक्षा तथा ज्ञानसँगै अघि बढ्नु आजका तमू विद्यार्थीहरूको महत्त्वपूर्ण जिम्मेवारी रहेको सन्देशसमेत कार्यक्रमले दिएको छ। तमू समुदायको हक, अधिकार, पहिचान र शैक्षिक विकासका लागि विद्यार्थीहरू संगठित, सचेत र सक्षम बन्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता अभिमुखीकरण कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच, नेतृत्वदायी क्षमता र सामाजिक सेवाभाव विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। समग्रमा, तमू विद्यार्थीहरूलाई ज्ञान, सीप, नेतृत्व र पहिचानको संरक्षणप्रति सचेत बनाउँदै एकताबद्ध गर्ने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रम उपलब्धिमूलक रहेको आयोजकको विश्वास छ। आगामी दिनमा पनि तमू विद्यार्थीहरूको शैक्षिक उन्नति, व्यक्तित्व विकास तथा भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।
रुपन्देही। माध्यमिक शिक्षक संगठन नेपाल (HISTUN) रुपन्देहीको जिल्ला अधिवेशन शनिबार बुटवलस्थित नवीन औद्योगिक कदर बहादुर रीता माविमा सम्पन्न भएको छ। अधिवेशनले दिपक बस्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो। अधिवेशन मित्रबन्धु गौडेलको अध्यक्षता तथा माध्यमिक शिक्षक संगठनका केन्द्रीय सह–अध्यक्ष युवराज न्यौपाने प्रमुख अतिथि एवं नविन औद्योगिक माध्यमिक विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले शिक्षकहरूको पेसागत निरन्तरता, रोजगारीको सुरक्षा र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकले लामो समयसम्म शिक्षण पेसामा योगदान पुर्याए पनि अवकाशपछिको जीवन सुरक्षित र सम्मानजनक बनाउन आवश्यक व्यवस्था हुनुपर्ने बताउनुभयो। उहाँले शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई महत्त्वका साथ अघि बढाउनुपर्ने धारणा राख्दै शिक्षकको भविष्य सुरक्षित गर्न राज्य, सम्बन्धित निकाय र शिक्षक संगठनबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। शिक्षकको पेसागत स्थायित्व र सामाजिक सुरक्षाको सुनिश्चितताले शिक्षण पेसाप्रति आकर्षण बढाउनुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत योगदान पुर्याउने उहाँको भनाइ थियो। अधिवेशनबाट उपाध्यक्षमा ध्रुव बस्याल, महिला उपाध्यक्षमा सपना भट्टराई, सचिवमा इ. बिमल अर्याल, सह–सचिवमा होमनाथ कँडेल र कोषाध्यक्षमा विष्णु न्यौपाने चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा शिवप्रसाद अर्याल, लक्ष्मण प्र. पाठक, दिपक तिवारी, भोजराज पौडेल, गिरिराज अर्याल, नारायण शर्मा, राममिलन यादव, करुणा थापा, ध्रुवनारायण प्रजापति र आस्विनी कुमारी सिंह चयन हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष दिपक बरालको नेतृत्वमा जिल्ला कार्यसमितिले शिक्षकका पेसागत समस्या समाधान, सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल तथा गुणस्तरीय शिक्षाको विकासमा योगदान पुर्याउने तवरले संगठनलाई अगाडी बढाउने प्रतिबद्धता जनाएको छ।
पन्देही। पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ सामग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सियारी गाउँपालिका–७ स्थित समयमाई माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वैशाख २०८३ महिनाभरि खानेपानीको धारा जडान गरेका करिब ११३ जना उपभोक्तालाई खानेपानी शिक्षा तथा सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको हो। संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा नयाँ धारा जडान गरेका उपभोक्तालाई स्वच्छ खानेपानीको महत्त्व, खानेपानीको सुरक्षित प्रयोग, पानीजन्य रोगबाट बच्ने उपाय तथा व्यक्तिगत र घरायसी सरसफाइसम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, सरसफाइसम्बन्धी व्यवहारलाई दैनिक जीवनमा अपनाउन प्रेरित गर्ने उद्देश्यले उपभोक्तालाई आवश्यक सामग्री वितरण गरिएको थियो। स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै त्यसको सुरक्षित प्रयोग र सरसफाइमा ध्यान दिन सके विभिन्न प्रकारका पानीजन्य रोगबाट बच्न सकिने भएकाले संस्थाले उपभोक्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमले नयाँ धारा जडान गरेका उपभोक्तालाई खानेपानीको उचित व्यवस्थापन, स्वच्छता र सरसफाइप्रति सचेत बनाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उपभोक्तालाई स्वच्छ, सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।
रुपन्देही । सियारी गाउँपालिका–५, बनघुसरीस्थित संचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ साधारण सभा तथा पाँचौँ निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ। असोज १८ गते सम्पन्न साधारण सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्यदिशा तथा विभिन्न नीतिगत विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ। संस्थाका अध्यक्ष यामबहादुर रोकाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य तिला कुमारी पराजुलीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष भागिरथ पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष नरेश प्रसाद थान्जुले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा संस्थाका पदाधिकारी, शेयर सदस्य, सल्लाहकार, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वार्षिक प्रतिवेदन प्रस्तुत साधारण सभामा संस्थाका अध्यक्ष यामबहादुर रोकाहा, सचिव बसन्तराज भट्टराई, कोषाध्यक्ष पार्वती बुढाथोकी तथा लेखा संयोजक कमलप्रसाद पौड्यालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि, सदस्य सेवा, संस्थागत प्रगति तथा आगामी योजनाका विषयमा जानकारी गराइएको थियो। साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को सम्पन्न लेखापरीक्षण प्रतिवेदन, विभिन्न १५ वटा कार्यविधि तथा विनियम पुनर्लेखन लगायतका विषयहरू सर्वसम्मत रूपमा अनुमोदन तथा पारित गरेको छ। १३ जना ज्येष्ठ शेयर सदस्य सम्मानित संस्थाले आफ्नो यात्रामा महत्वपूर्ण योगदान पुर्याएका १३ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ। ज्येष्ठ सदस्यहरूको योगदान, संस्थाप्रतिको निरन्तर विश्वास र सहकार्यको कदर गर्दै सम्मान गरिएको हो। सहकारीको विकास र संस्थागत यात्रामा लामो समयदेखि जोडिएका ज्येष्ठ सदस्यहरूको सम्मानले नयाँ पुस्ताका शेयर सदस्यहरूलाई समेत संस्थाप्रति थप जिम्मेवार र सकारात्मक बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। शेयर सदस्यबाट सुझाव तथा जिज्ञासा कार्यक्रममा शेयर सदस्य प्रेमकुमार पोख्रेलले संस्थाको सेवा, गतिविधि तथा आगामी कार्यदिशाका विषयमा विभिन्न सुझाव, सल्लाह तथा जिज्ञासा राख्नुभएको थियो। उहाँले उठाउनुभएका विषयमा संस्थाका सल्लाहकार प्रेमबहादुर रोकाहाले आवश्यक सम्बोधन गर्दै संस्थाको वर्तमान अवस्था र आगामी योजनाबारे आफ्ना धारणा राख्नुभएको थियो। त्यसैगरी संस्थाका शेयर सदस्य तथा सियारी गाउँपालिका–५ का वडाध्यक्ष धनपति खरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्याउन सक्ने भूमिकामाथि प्रकाश पार्नुभएको थियो। उहाँले सहकारीको संस्थागत विकाससँगै शेयर सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। प्रेमबहादुर रोकाहाको नेतृत्वमा नयाँ समिति निर्विरोध १७औँ साधारण सभाको अर्को महत्वपूर्ण पक्षका रूपमा संस्थाको पाँचौँ निर्वाचनबाट नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन संयोजक मीनप्रसाद भट्टराई तथा सदस्यहरू नरेश प्रसाद थान्जु र थमनबहादुर पौडेल सम्मिलित निर्वाचन टोलीको सहजीकरणमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो। निर्वाचनबाट प्रेमबहादुर रोकाहाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको हो। निर्विरोध निर्वाचित सञ्चालक समिति १. अध्यक्ष — प्रेमबहादुर रोकाहा २. उपाध्यक्ष — बसन्तराज भट्टराई ३. सचिव — लक्ष्मण पराजुली ४. कोषाध्यक्ष — भगवता कंडेल भुसाल ५. सदस्य — लेखनाथ भुसाल ६. सदस्य — तिला कुमारी पराजुली ७. सदस्य — ज्ञानबहादुर थापा क्षेत्री ८. सदस्य — प्रकाश पोख्रेल लेखा समिति १. लेखा संयोजक — गोपालप्रसाद पोख्रेल २. सदस्य — विष्णु तिवारी ३. सदस्य — मतिसरा खरेल सहकारीको नयाँ नेतृत्वसँगै नयाँ अपेक्षा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएसँगै संस्थाले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। सहकारीमा सदस्यहरूको विश्वास कायम राख्दै बचत परिचालन, ऋण लगानी, वित्तीय अनुशासन, संस्थागत सुशासन तथा सदस्य हितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको छ।
रुपन्देही । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका व्यक्तिहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरेको छ। ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने नाराका साथ असोज १५ गते बिहीबार सियारी गाउँपालिका वडा नं. ४ सिसनियास्थित सामुदायिक हलमा कार्यक्रम सञ्चालन गरिएको हो। सियारी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण, ज्वरो जाँच, मधुमेह परीक्षण, पिसाब परीक्षण, रक्तचाप जाँच तथा खकार सङ्कलन गरिएको थियो। त्यसैगरी, नियमित रूपमा सेवन गरिरहेका औषधिको अवस्थाबारे अनुगमन, आवश्यक स्वास्थ्य सल्लाह तथा परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो। कार्यक्रममा सियारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्ती, सियारी आधारभूत अस्पताल छपियाका इन्चार्ज प्रेमनारायण सुवेदी, अहेव हरिद्वार चौधरी तथा अनमी झरना बत्रा थारुलगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको पहिचान गरी आवश्यक उपचार तथा परामर्श प्रदान गर्ने उद्देश्य राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। सियारी गाउँपालिकाले ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवाअन्तर्गत वार्षिक रूपमा करिब २ हजार २०० देखि २ हजार ३०० जनासम्मलाई सेवा प्रदान गर्दै आएको छ। उमेर बढ्दै जाँदा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान, नियमित औषधि सेवनको अनुगमन र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षा, सम्मानजनक जीवनयापन तथा घरनजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
रुपन्देही । तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्यसमिति रुपन्देहीको ४७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला कार्यसमितिका अध्यक्ष श्री राम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न सभामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रीय समितिका उपमहासचिव श्री मिलन गुरुङ्ग प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सभामा गुरुङ्ग समुदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र पुस्तान्तरणलाई प्राथमिकताका साथ उठाइएको थियो। आधुनिकता र बदलिँदो सामाजिक परिवेशसँगै मौलिक पहिचान तथा सांस्कृतिक मूल्य–मान्यतामाथि देखिएका चुनौतीलाई सामना गर्न समुदायभित्र एकता, जागरण र संगठित प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रममा जिल्ला अध्यक्ष राम बहादुर गुरुङ्गले आफ्नो कार्यकालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमार्फत जिल्ला कार्यसमितिले वर्षभरि सञ्चालन गरेका सामाजिक, सांस्कृतिक, संगठनात्मक तथा समुदाय केन्द्रित गतिविधिहरूको विवरण प्रस्तुत गरिएको थियो। त्यस्तै, कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत सभामा प्रस्तुत गरी संस्थाको आर्थिक अवस्था, आम्दानी तथा खर्चसम्बन्धी विवरण जानकारी गराइएको थियो। सभाले गुरुङ्ग समुदायको हक, हित र अधिकारका विषयलाई संस्थागत रूपमा अघि बढाउँदै शिक्षा, रोजगारी, सामाजिक न्याय, समान अवसर, राजनीतिक तथा राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर पहल गर्नुपर्ने आवश्यकता औँल्याएको थियो। आदिवासी जनजातिका मौलिक अधिकार, पहिचान, प्रतिनिधित्व र सामाजिक समावेशिताका सवालमा पनि समुदायको संगठित भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो। त्यसैगरी, गुरुङ्ग समुदायलाई आफ्नो ऐतिहासिक थातथलो, मौलिक संस्कृति, परम्परा र सामुदायिक जीवनसँग जोड्दै मूलवासी तथा आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र इतिहाससँग जोड्न प्रशिक्षण, सांस्कृतिक कार्यक्रम, विद्यार्थी तथा युवा सहभागिता र ज्ञान हस्तान्तरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो। सभामा ३७ वटा ईकाई समितिका अध्यक्षलगायत प्रतिनिधिहरू, जिल्ला माङी, विद्यार्थी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माया गुरुङ्ग, झपट बहादुर गुरुङ्ग, गंगा गुरुङ्ग, बिमला गुरुङ्ग, भिम गुरुङ्ग, चन्द्र बहादुर गुरुङ्ग, राजु गुरुङ्ग (बक्सर), लाल बहादुर गुरुङ्ग, सिद्धार्थ गुरुङ्ग, सरोज गुरुङ्ग, चित्र गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, मन प्रसाद गुरुङ्ग, चीन बहादुर गुरुङ्ग र राजेन्द्र सिंह गुरुङ्गलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य श्री आशा गुरुङ्गले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन श्री ईश्वर गुरुङ्गले गर्नुभएको थियो। ४७औँ वार्षिक साधारणसभाले गुरुङ्ग समुदायको धर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षणसँगै सामाजिक एकता, संगठन सुदृढीकरण, हक–हितको संरक्षण तथा आदिवासी जनजातिको अधिकारका लागि सामूहिक आवाजलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सभाले नयाँ पुस्ताको सक्रिय सहभागितासहित तमु समुदायको मौलिक पहिचान र अधिकारलाई आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने दिशामा संस्थागत अभियानलाई निरन्तरता दिने सन्देशसमेत दिएको छ।
रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. ३(ख) को क्षेत्रीय अधिवेशनको मतगणना सम्पन्न भएको छ। प्राप्त मतपरिणामअनुसार सभापति पदमा उमाकान्त चपाईं नेतृत्वको प्यानल विजयी भएको छ। सभापति पदमा उमाकान्त चपाईंले २४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दामोदर पंगेनीले १७० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, उपसभापति पदमा हुमराज ढकाल २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रतिभा खनालले ११६ मत प्राप्त गर्नुभएको छ। सचिव पदमा केशवप्रसाद अधिकारी २३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी पल्टन चौधरीले १६८ मत प्राप्त गर्नुभएको छ। यस्तै, सहसचिव पदमा पंकज शर्मा गौतम २०४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। सहसचिव पदका प्रतिस्पर्धी बसन्ती रिजालले ४५ मत र सन्तोष भण्डारीले ८७ मत प्राप्त गर्नुभएको छ। मतगणना सम्पन्न भएसँगै नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं. ३(ख) मा नयाँ क्षेत्रीय नेतृत्व चयन भएको छ। निर्वाचित पदाधिकारीहरूलाई समर्थक, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
विशेष राजनीतिक प्रोफाइल अर्जुन गुरुङ युवा नेतृत्व हुँदै सामाजिक तथा आदिवासी जनजाति अभियानमा सक्रिय बनेका अर्जुन गुरुङ संगठनात्मक जिम्मेवारीका कारण सार्वजनिक जीवनमा स्थापित युवा नेतृत्व हुन्। बुटवललाई आधार बनाएर अघि बढेका गुरुङले गुरुङ समुदायको युवा संगठनदेखि आदिवासी जनजाति युवा महासंघसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। युवा नेतृत्वबाट सार्वजनिक यात्राको सुरुवात अर्जुन गुरुङको संगठनात्मक यात्रा युवा ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, लुम्बिनी प्रदेश सँग महत्वपूर्ण रूपमा जोडिएको छ। २०८० मंसिर १७ गते सम्पन्न परिषद्को प्रथम ऐतिहासिक प्रदेश अधिवेशनबाट गुरुङ लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। अधिवेशनले उनको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको थियो। युवा संगठनको नेतृत्व सम्हाल्दै गुरुङले समुदायका युवालाई संगठनसँग जोड्ने तथा सामाजिक र सांस्कृतिक विषयमा युवाको सहभागिता बढाउने अभियानमा भूमिका निर्वाह गरेका छन्। आदिवासी जनजाति युवा महासंघमा जिम्मेवारी २०८२ वैशाखमा सम्पन्न आदिवासी जनजाति युवा महासंघ नेपालको छैटौँ संघीय अधिवेशन बाट अर्जुन गुरुङ सचिवमा निर्वाचित भएका हुन्। अधिवेशनबाट ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो र कार्यसमितिको कार्यकाल तीन वर्षका लागि निर्धारण गरिएको थियो। Drishti News यो जिम्मेवारीसँगै गुरुङको संगठनात्मक भूमिका गुरुङ समुदायको सीमाभन्दा बाहिर समग्र आदिवासी जनजाति युवा समुदायको प्रतिनिधित्व गर्ने तहमा पुगेको छ। संगठनबाट निर्माण भएको राजनीतिक आधार अर्जुन गुरुङको राजनीतिक तथा सामाजिक परिचयको महत्वपूर्ण आधार उनको संगठनात्मक अनुभव हो। युवा संगठनको प्रदेश अध्यक्षदेखि आदिवासी जनजाति युवा महासंघको जिम्मेवारीसम्म निर्वाचित भएर काम गरेको अनुभवले उनको नेतृत्व यात्रालाई संस्थागत आधार दिएको छ। संगठन सञ्चालन, कार्यसमिति परिचालन, समुदायसँग समन्वय र युवा प्रतिनिधित्व उनको सार्वजनिक भूमिकासँग जोडिएका प्रमुख पक्ष हुन्। केन्द्रीय भूमिकामा सक्रियता पछिल्ला सार्वजनिक गतिविधिमा गुरुङलाई आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सचिव का रूपमा उल्लेख गरिएको छ। आदिवासी जनजाति युवा महासंघ नेपालको छैटौँ संघीय अधिवेशनबाट चयन भएको ४१ सदस्यीय संघीय समितिमा अर्जुन गुरुङ सचिवका रूपमा निर्वाचित भएको विवरण सार्वजनिक स्रोतमा समेत उल्लेख छ। यसले उनको सामाजिक तथा संगठनात्मक सक्रियता लुम्बिनी प्रदेशको सीमाभन्दा बाहिर राष्ट्रियस्तरको युवा संगठनसँग समेत जोडिएको देखाउँछ। राजनीतिक गतिविधिसँगको सम्बन्ध अर्जुन गुरुङको सार्वजनिक सक्रियता सामाजिक संगठनसँगै राजनीतिक गतिविधिसँग पनि जोडिएको छ। रुपन्देहीमा नेपाली कांग्रेससँग सम्बन्धित कार्यक्रम तथा गतिविधिमा उनको सहभागिता सार्वजनिक भएको छ। पछिल्ला सार्वजनिक विवरणमा उनी कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहेको र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारीसमेत दिएको उल्लेख गरिएको छ। उनको राजनीतिक–सामाजिक परिचय निर्माणमा युवा संगठन, समुदायमा आधारित नेतृत्व तथा आदिवासी जनजाति प्रतिनिधित्वसँग सम्बन्धित जिम्मेवारी महत्वपूर्ण आधारका रूपमा रहेका छन्। युवाको प्रतिनिधित्वलाई प्राथमिकता गुरुङको सार्वजनिक भूमिकामा युवा सहभागिता महत्वपूर्ण विषयका रूपमा रहेको छ। युवा संगठनको नेतृत्वबाट सुरु भएको उनको यात्रा आदिवासी जनजाति युवा महासंघको नेतृत्व तहसम्म पुगेको छ। आदिवासी जनजाति समुदायका युवालाई संगठनात्मक गतिविधिमा जोड्ने, समुदायका सवाललाई सार्वजनिक बहसमा ल्याउने तथा युवा पुस्ताको सहभागितालाई संस्थागत गर्ने विषय उनको संगठनात्मक भूमिकासँग प्रत्यक्ष जोडिएका छन्। अबको राजनीतिक यात्रा अर्जुन गुरुङको अहिलेसम्मको यात्रा मुख्यतः संगठन निर्माण, युवा नेतृत्व र आदिवासी जनजाति प्रतिनिधित्व मा केन्द्रित देखिन्छ। यही संगठनात्मक अनुभवलाई राजनीतिक क्षेत्रमा कसरी अघि बढाउँछन् भन्ने विषय उनको आगामी सार्वजनिक यात्राको महत्वपूर्ण पक्ष हुनेछ। रुपन्देहीको स्थानीय राजनीतिक परिवेशमा युवा पुस्ताको सहभागिता बढिरहेका बेला गुरुङको संगठनात्मक पृष्ठभूमि र सामाजिक सक्रियता उनको राजनीतिक परिचयका महत्वपूर्ण आधार बनेका छन्। अर्जुन गुरुङ : प्रोफाइल एक नजरमा मुख्य पहिचान युवा तथा सामाजिक नेतृत्व संगठनात्मक पृष्ठभूमि युवा ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महत्वपूर्ण पूर्व जिम्मेवारी लुम्बिनी प्रदेश अध्यक्ष निर्वाचित जिम्मेवारी आदिवासी जनजाति युवा महासंघ नेपालको संघीय सचिव पछिल्लो सार्वजनिक भूमिका आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सचिवका रूपमा सार्वजनिक तथा संगठनात्मक गतिविधिमा सहभागिता मुख्य सक्रियता युवा नेतृत्व, आदिवासी जनजाति प्रतिनिधित्व, सामाजिक संगठन तथा राजनीतिक गतिविधि विशेष राजनीतिक प्रोफाइल | सार्वजनिक रूपमा पुष्टि भएका विवरणमा आधारित
तमु धिं नेपालको ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। महाधिवेशनले सुवेदार मेजर श्रीप्रसाद गुरुङ लाई अध्यक्षमा निर्विरोध चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गरेको हो। तमु धिं नेपालको संस्थागत विकास, तमु समुदायको हकहित, भाषा, संस्कृति, परम्परा तथा सामाजिक एकताका क्षेत्रमा काम गर्ने उद्देश्यसहित सम्पन्न महाधिवेशनबाट विभिन्न पदमा नयाँ कार्यसमिति चयन गरिएको हो। महाधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ , प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ र द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ चयन भएका छन्। त्यसैगरी महासचिवमा कृष्णकुमार गुरुङ , सचिवमा श्रीजंग गुरुङ , सहसचिवमा बालकुमारी गुरुङ , कोषाध्यक्षमा जगतबहादुर गुरुङ तथा सहकोषाध्यक्षमा काशीमाया गुरुङ निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित कार्यसमिति अध्यक्ष: सुवेदार मेजर श्रीप्रसाद गुरुङ वरिष्ठ उपाध्यक्ष: गीमाया गुरुङ प्रथम उपाध्यक्ष: अधिवक्ता जुनाकुमारी गुरुङ द्वितीय उपाध्यक्ष: गोपाल गुरुङ महासचिव: कृष्णकुमार गुरुङ सचिव: श्रीजंग गुरुङ सहसचिव: बालकुमारी गुरुङ कोषाध्यक्ष: जगतबहादुर गुरुङ नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिले तमु धिं नेपालको संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै तमु समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक हितका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ। ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनबाट सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित हुनु संस्थाभित्रको सहमति, सहकार्य र एकताको सन्देशका रूपमा लिइएको छ। नयाँ कार्यसमितिको कार्यकालमा तमु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै सामाजिक क्षेत्रमा संस्थाको भूमिका अझ विस्तार हुने कुरा संस्थाले जनाएको छ।