सयपत्री फूलखेतीदेखि तोरी र बेसार उत्पादनसम्म, महिलालाई आत्मनिर्भर बनाउँदै उत्तम महिला कृषि सहकारी
रुपन्देही । तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्ने समयलाई अवसरका रूपमा उपयोग गर्दै रुपन्देहीको सियारी गाउँपालिका–७, अमवा बजारस्थित उत्तम महिला कृषि सहकारी संस्थाले सयपत्री फूल उत्पादनलाई प्राथमिकता दिएको छ। चाडपर्वलाई लक्षित गरी फूलखेतीमार्फत स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै महिलालाई कृषि उद्यममा जोड्दै आत्मनिर्भर बनाउने अभियानमा सहकारी सक्रिय देखिएको छ। सहकारीले सयपत्री फूलखेतीसँगै तोरी र बेसार उत्पादनलाई समेत प्राथमिकतामा राखेको छ। स्थानीय स्तरमै कृषि उत्पादन बढाउने, महिलाको श्रम र सीपलाई उत्पादनसँग जोड्ने तथा कृषि पेसालाई आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यले यस्ता गतिविधि सञ्चालन गर्दै आएको हो। वि.सं. २०७२ सालमा स्थापना भएको उत्तम महिला कृषि सहकारी संस्थाले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई महिला सशक्तीकरण, उद्यमशीलता र कृषि उत्पादनलाई समेत आफ्नो कार्यक्षेत्र बनाएको छ। संस्थाले महिलामैत्री कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न अभिमुखीकरण तथा क्षमता विकाससम्बन्धी तालिमहरू पनि आयोजना गर्दै आएको छ। सहकारीकी अध्यक्ष सुदिक्षा खरेलका अनुसार महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै उनीहरूमा नेतृत्व क्षमता, उद्यमशील सोच र आत्मविश्वास विकास गर्नु संस्थाको प्रमुख उद्देश्य हो। महिलालाई घरायसी काममा मात्र सीमित नराखी उत्पादन, व्यवसाय र सामाजिक नेतृत्वमा समेत सक्रिय बनाउने प्रयास भइरहेको छ। कृषि उत्पादन, सीप विकास र महिला सहभागितालाई एकसाथ अघि बढाउँदै आएको सहकारीको यो प्रयासले स्थानीय महिलाका लागि नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ। आफ्नै माटोमा फूल फुलाउने, तोरी र बेसार उत्पादन गर्ने तथा सामूहिक प्रयासबाट आर्थिक अवसर सिर्जना गर्ने अभियानले ग्रामीण महिलाको आत्मनिर्भर यात्रालाई थप बल पुर्याउन सक्छ। सयपत्री फूलको रङसँगै महिलाको मेहनत, सीप र सम्भावना पनि फुलाउँदै गरेको उत्तम महिला कृषि सहकारी संस्थाको यो पहल स्थानीय कृषि प्रवर्द्धन र महिला सशक्तीकरणको प्रेरणादायी उदाहरण बनेको छ।




















