रुपन्देही, मंसिर ११। रुपन्देहीको सियारी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०८३ अन्तिम चरणमा पुगेको छ। सियारी गाउँपालिका–४, छपियामा जारी प्रतियोगिता अन्तर्गत फाइनल खेलमा वडा नं. २ र वडा नं. ५ बीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल मंसिर १२ बिहान ९ बजे देखि सुरु हुनेछ। गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक गोपाल ज्ञवालीका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उनले प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाहरूबीच आपसी सद्भाव र खेलभावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। प्रतियोगितामा सियारी गाउँपालिका अन्तर्गतका सातवटै वडाबाट गरी जम्मा १५ वटा क्रिकेट टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताले गाउँपालिकाभित्रका क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार रुपैयाँसहित उपाधि प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मंसिर १२ गते सञ्चालन हुने फाइनल खेलमा वडा नं. २ र ५ बीच हुने प्रतिस्पर्धालाई लिएर खेलप्रेमीमा उत्साह बढेको छ।
रूपन्देहीको ऐतिहासिक तथा धार्मिकस्थल बाउन्नकोटी सिद्धधामको संरक्षण, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले श्री ब्रह्मवैवर्त पुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ। आगामी मंसिर २३ गतेदेखि २९ गतेसम्म महायज्ञ सञ्चालन हुने आयोजकले जानकारी दिएको हो। बाउन्नकोटि सिद्ध धाम चि.म.टि.प. को आयोजनामा हुन लागेको पत्रकार सम्मेलन संस्थाका अध्यक्ष तारा प्रसाद छन्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा धामका संरक्षक गणपति चन्द्रमणि पौडेल, उपाध्यक्ष सुमित्रा घिमिरे, उपाध्यक्ष नरबहादुर पुन, सचिव निलप्रसाद पुनलगायतको उपस्थिति रहेको थियो। धामको दैनिक पूजाआजा तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने, आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने र धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। महायज्ञबाट संकलित सहयोग रकमबाट धाममा सन्त विश्राम तथा ध्यान केन्द्र, शिशुमहल, संग्रहालय र सादु सन्त आश्रम निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै धामसँग जोडिएका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ। महायज्ञमा प्रखर वक्ता यशस्वी आचार्य श्री कपिलदेव सुवेदीको मुखारविन्दबाट श्रीब्रह्मवैवर्त पुराण कथा वाचन, धार्मिक तथा सांस्कृतिक प्रवचन र संगीतमय भजनकीर्तन हुने कार्यक्रम रहेको छ। महायज्ञको दैनिक कार्यक्रमअन्तर्गत बिहान ९ बजेदेखि पूजाआजा, अर्चना तथा पाठपारायण, ११ बजेदेखि १२ बजेसम्म संगीतमय भजनकीर्तन, १२ बजेदेखि १२ः३० बजेसम्म गुरु पूजन तथा आरती र १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ।त्यसपछि आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण र साँझ ७ बजेदेखि ९ बजेसम्म भजनकीर्तन सञ्चालन गरिनेछ। मंसीर २९ गते पूर्णाहुति तथा समापन गरिने आयोजकले जनाएको छ। महायज्ञलाई सफल बनाउन आयोजकले दानदाताका लागि सहयोग रकमअनुसार विभिन्न सम्मान तथा प्रोत्साहनका कार्यक्रमसमेत निर्धारण गरेको छ। जसअनुसार ४९९ रुपैयाँसम्म सहयोग गर्ने दाताको रकम दानपेटिकामा राखिनेछ भने ५०० देखि ४ हजार ९९९ रुपैयाँसम्म सहयोग गर्ने दातालाई रसिद प्रदान गरिनेछ। त्यस्तै, ५ हजारदेखि ११ हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई रामनामी र सादा फ्रेममा प्रमाणपत्र प्रदान गरिनेछ। ११ हजार १ रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई रामनामी, रुद्राक्षको माला र बुट्टेदार फ्रेममा प्रमाणपत्र प्रदान गर्नुका साथै धामको आजीवन सदस्यता दिइनेछ। २५ हजार १ रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई दोसल्ला, रुद्राक्षको माला र स्तरीय फ्रेममा प्रमाणपत्र प्रदान गरिनेछ। साथै धामको आजीवन सदस्यता प्रदान गरिने व्यवस्था गरिएको छ। ५० हजार १ रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने दातालाई माथिका सम्मानसहित दम्पतीलाई भजनकीर्तनका साथ यज्ञमण्डपसम्म लगेर सम्मान गरिनेछ। एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दातालाई माथिका सम्पूर्ण सम्मानसहित धामको आजीवन संरक्षक बनाइनेछ। साथै निर्माणाधीन सन्त भवनमा परिवारसहितको तस्बिर राखिने र भजनकीर्तनसहित परिवारजनलाई यज्ञमण्डपसम्म लगेर विशेष सम्मान गरिने आयोजकले जनाएको छ। आयोजकले सम्पूर्ण धर्मप्रेमी, भक्तजन, स्थानीय तह, संघसंस्था, उद्योगी, व्यवसायी तथा आम सर्वसाधारणलाई महायज्ञमा सहभागी भई धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र धामको भौतिक विकासमा सहयोग गर्न आग्रह गरेको छ।
रुपन्देही, सियारी। आफूले पढेको विद्यालयप्रतिको माया र आत्मीयता मानिसले जहाँ पुगे पनि बिर्सन सक्दैन भन्ने उदाहरण बनेका छन् रुपन्देहीको सियारी गाउँपालिका–६, रामगञ्ज निवासी सुरेन्द्र गुप्ता। गुप्ताले सियारी–५, दुर्गापुरस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयका आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीका लागि ३० थान विद्यालय पोसाक (स्कुल ट्र्याक) सहयोग गरेका छन् । वि.सं. २०६९ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थी गुप्ता हाल अध्ययनका लागि अस्ट्रेलियामा रहँदै आएका छन्। नेपाल भ्रमणमा आएका बेला आफूले अध्ययन गरेको विद्यालय र त्यहाँ पढिरहेका विद्यार्थीलाई सम्झँदै उहाँले उक्त पोसाक सहयोग गरेका हुन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्थापनमा सहजता होस् र उनीहरूलाई पढाइमा थप हौसला मिलोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने गुप्ताले आशा लिएका छन्। विदेशमा अध्ययन गरिरहे पनि आफ्नो विद्यालय र त्यहाँका विद्यार्थीप्रतिको सम्बन्धलाई आत्मीयताका साथ जोडिराख्नुभएका गुप्ताको यो कदम प्रशंसनीय छ। आफूले शिक्षा हासिल गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्नु उनको सामाजिक जिम्मेवारीबोधसँगै विद्यालयप्रतिको सम्मान र मायाको अभिव्यक्ति पनि हो। गुप्ताले गरका सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै धन्यवाद दिएको छ। पूर्वविद्यार्थीबाट प्राप्त यस्तो सहयोगले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै अन्य पूर्वविद्यार्थीलाई पनि आफ्नो विद्यालयको शैक्षिक विकासमा साथ दिन प्रेरणा मिल्ने विश्वास विद्यालय परिवारले लिएको छ। आफूले अध्ययन गरेको विद्यालयलाई सम्झेर विद्यार्थीको आवश्यकता पूरा गर्न गरिएको सानो प्रयासले पनि उनीहरूको अनुहारमा खुसी ल्याउन सक्छ। सुरेन्द्र गुप्ताको यो सहयोग त्यसैको एउटा सकारात्मक उदाहरण बनेको छ।
देवदह, मंसिर ५। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला समितिको आयोजनामा तेस्रो देवदह नगर अधिवेशन–२०८३ शनिबार देवदह–खैरेनीस्थित खेमाँ तमू छोंज धींको खेमाँ धींमा सम्पन्न भएको छ। अधिवेशनले नन्द बहादुर तमूको अध्यक्षतामा ९ सदस्यीय देवदह नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका संस्थापक अध्यक्ष तथा मातृभाषा अभियन्ता भिम प्रसाद तमूको प्रमुख आतिथ्यता र सरोज तमूको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै तमू समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र पुस्तान्तरणमा विद्यार्थी संगठनको भूमिकाबारे महत्वपूर्ण छलफल गरेको छ। अधिवेशनमा बोल्ने वक्ताहरूले मातृभाषा कुनै पनि समुदायको पहिचान, इतिहास र सभ्यताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए। उनीहरूले तमू समुदायको मौलिक भाषा र सांस्कृतिक सम्पदाको संरक्षणसँगै विद्यार्थीहरूमा शैक्षिक जागरण, सामाजिक चेतना, नेतृत्व क्षमता र संगठनात्मक एकता विकास गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिका प्रचारप्रसार सचिव तेज प्रसाद तमू, सह–कोषाध्यक्ष गौं बहादुर तमू, जिल्ला कार्यसमिति सदस्य बम बहादुर तमू, देवदह नगर समितिका सल्लाहकार देवराज तमू तथा नगर समितिका अध्यक्ष भरत कुमार तमूको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समितिका उपाध्यक्ष तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् देवदह नगर सचिव गोपाल मान तमू, तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् देवदह नगर समितिका अध्यक्ष छमाया तमूस्यो, तमु युवा छोंज धीं देवदह नगर समितिका अध्यक्ष बिश्व तमू, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं बुटवल उपमहानगर समितिका अध्यक्ष मोनिका तमूस्यो, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् सिक्टन इकाई अध्यक्ष दुलमान तमू, खेमाँ तमू छोंज धीं समितिका अध्यक्ष थमन सिंह तमू, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् पेटबानिया इकाई अध्यक्ष साबित्री तमूस्यो, खेमाँ तमू छोंज धीं माङी अध्यक्ष कमला तमूस्यो तथा खेमाँ तमू छोंज धीं युवा अध्यक्ष खेम बहादुर तमूको उपस्थिति रहेको थियो। अधिवेशनमा विभिन्न इकाईबाट सहभागी आमा–बुवा, तमू विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले तमू समुदायको भाषा, संस्कृति र परम्परालाई भावी पुस्तासम्म जीवन्त राख्न विद्यार्थी तथा युवाहरूलाई संगठित गर्दै विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए। साथै विद्यार्थी संगठनलाई शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा थप सक्रिय बनाउँदै समुदायको समग्र विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए। नन्द बहादुर तमूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति अधिवेशनबाट नन्द बहादुर तमूको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिम तमू, सचिवमा बिमल कुमार तमू, कोषाध्यक्षमा भूमिका तमूस्यो र सह–सचिवमा असिम तमू चयन भएका छन्। त्यस्तै सदस्यहरूमा ओकेश तमू, रचना तमूस्यो, दिपिका तमूस्यो र जिसन तमू चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिले देवदह क्षेत्रका तमू विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा नेतृत्व क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ। साथै तमू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र ऐतिहासिक पहिचान संरक्षणको अभियानमा विद्यार्थी तथा युवाहरूको सहभागिता विस्तार गर्दै संगठनलाई थप सशक्त बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ। तेस्रो देवदह नगर अधिवेशनले नयाँ नेतृत्व चयनसँगै तमू विद्यार्थीहरूको संगठनात्मक एकता, संस्थागत विकास र सांस्कृतिक पहिचान संरक्षणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति सचेत बनाउँदै समुदायको मौलिकता जोगाउने अभियानमा सक्रिय रूपमा जोडिनसमेत सन्देश दिएको छ।
लुम्बिनी– लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएको लामो समयपछि आनी छोइङ डोल्मा लुम्बिनी आएकी छन् । बुत्रबार लुम्बिनी आएलगत्तै मायादेवी मन्दिरमा पुजाआजा गरेकी उनले त्यसपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन् । गौतमबुद्ध विमानस्थलबाट कडा सुरक्षाका साथ उनलाई लुम्बिनी पु¥याइएको थियो । उनको नियुक्तिलाई लिएर लुम्बिनीमा विरोध भइरहेको थियो । मंगलबार कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषले पूर्णता पाएको थियो । त्यसपछि बुधबार आनी लुम्बिनी आएकी हुन् । कोषाध्यक्ष बज्राचार्य र सदस्य–सचिव सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपघि बसेको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो । सोही बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो । उनीहरु चारै जना रूपन्देहीका हुन् । मायादेवी परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष आनीले सबैको सहकार्यमा लुम्बिनीको विकासमा लागि पर्ने जनाइन् । ‘हामी सबै टीमले काम गर्ने हो, मैले एक्लै के नै गर्न सक्छु र’, उनले भनिन्, ‘हाम्रो टीम र अन्य सबैको सहयोगमा काम गर्ने हो । यसमा सहकार्य गर्नेछौं ।’ उनले आफूले उपाध्यक्ष पदको जिम्मेवारी पाउनु शौभाग्य भएको जनाइन् । उपाध्यक्ष डोल्मा नेपाली नागरिक नभएको र विवादित व्यक्ति भन्दै लुम्बिनी बचाउ महाअभियानले विरोध गर्दै आएको थियो । यसैले पनि उनी नियुक्तिको लामो समय लुम्बिनी आइनन् । बुधबार पनि केही स्थानीय समूह लुम्बिनीको पर्साचोकमा जम्मा भएर विरोध गरेका थिए । सुरक्षा कडा पारेर उनलाई गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी लगिएको थियो । आनीलाई विमानस्थल, शान्तिदीप, मायादेवी र कार्यालय परिसरमा स्थानीय, शुभेच्छुक, भिक्षुभिक्षुणी, कोषका पदाधिकारी तथा कर्मचारी, बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था र उद्योगी–व्यापारीले स्वागत गरेका थिए ।
रुपन्देही । तमु ह्युला युवा छोँज धी गुरुङ राष्ट्रिय परिषद्, मधवलिया इकाई समितिको आयोजनामा ३३औँ वार्षिकोत्सवको अवसर पारेर छैटौँ पुरुष नकआउट भलिबल प्रतियोगिता तथा सांस्कृतिक साँझ–२०८३ आयोजना हुने भएको छ। स्वर्गीय ह. क्या. नरबहादुर ल्होंको स्मृतिमा श्रीमती टीपी माया पर्जुस्यो तथा सपरिवारको प्रायोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता मंसिर ३ गतेदेखि सुरु भई ५ गतेसम्म सञ्चालन हुनेछ। कार्तिक ३ गते खेल उद्घाटन गरिनेछ भने कार्तिक ५ गते खेल समापनसँगै वार्षिकोत्सव तथा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। मधवलियास्थित तमु समाज भवनमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता रहने आयोजकको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँ , दोस्रो हुने टिमले ३५ हजार रुपैयाँ र तृतीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, खेलाडीहरूको व्यक्तिगत प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्स विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमबारे जानकारी दिँदै मधवलिया इकाई समितिका अध्यक्ष रमेश चम्रु गुरुङले संस्थाको ३३औँ वार्षिकोत्सवलाई खेलकुद तथा सांस्कृतिक गतिविधिसँग जोडेर मनाउन लागिएको बताए। उनले प्रतियोगिताले गुरुङ समुदायको एकता, आपसी सद्भाव र खेलकुद विकासमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे। खेल संयोजक डिक प्रसाद पर्जो तमुले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र स्तरीय बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, युवा क्लबका अध्यक्ष देवेन्द्र चम्रु तमुले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलकुदसँगै सांस्कृतिक कार्यक्रमले समुदायबीचको सम्बन्ध र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। आयोजकले प्रतियोगिता तथा सांस्कृतिक साँझमा सहभागी भई कार्यक्रम सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, विभिन्न संघसंस्था तथा सम्पूर्ण शुभेच्छुकहरूलाई आग्रह गरेको छ।
रुपन्देही । तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्ने समयलाई अवसरका रूपमा उपयोग गर्दै रुपन्देहीको सियारी गाउँपालिका–७, अमवा बजारस्थित उत्तम महिला कृषि सहकारी संस्थाले सयपत्री फूल उत्पादनलाई प्राथमिकता दिएको छ। चाडपर्वलाई लक्षित गरी फूलखेतीमार्फत स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै महिलालाई कृषि उद्यममा जोड्दै आत्मनिर्भर बनाउने अभियानमा सहकारी सक्रिय देखिएको छ। सहकारीले सयपत्री फूलखेतीसँगै तोरी र बेसार उत्पादनलाई समेत प्राथमिकतामा राखेको छ। स्थानीय स्तरमै कृषि उत्पादन बढाउने, महिलाको श्रम र सीपलाई उत्पादनसँग जोड्ने तथा कृषि पेसालाई आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यले यस्ता गतिविधि सञ्चालन गर्दै आएको हो। वि.सं. २०७२ सालमा स्थापना भएको उत्तम महिला कृषि सहकारी संस्थाले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई महिला सशक्तीकरण, उद्यमशीलता र कृषि उत्पादनलाई समेत आफ्नो कार्यक्षेत्र बनाएको छ। संस्थाले महिलामैत्री कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न अभिमुखीकरण तथा क्षमता विकाससम्बन्धी तालिमहरू पनि आयोजना गर्दै आएको छ। सहकारीकी अध्यक्ष सुदिक्षा खरेलका अनुसार महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै उनीहरूमा नेतृत्व क्षमता, उद्यमशील सोच र आत्मविश्वास विकास गर्नु संस्थाको प्रमुख उद्देश्य हो। महिलालाई घरायसी काममा मात्र सीमित नराखी उत्पादन, व्यवसाय र सामाजिक नेतृत्वमा समेत सक्रिय बनाउने प्रयास भइरहेको छ। कृषि उत्पादन, सीप विकास र महिला सहभागितालाई एकसाथ अघि बढाउँदै आएको सहकारीको यो प्रयासले स्थानीय महिलाका लागि नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ। आफ्नै माटोमा फूल फुलाउने, तोरी र बेसार उत्पादन गर्ने तथा सामूहिक प्रयासबाट आर्थिक अवसर सिर्जना गर्ने अभियानले ग्रामीण महिलाको आत्मनिर्भर यात्रालाई थप बल पुर्याउन सक्छ। सयपत्री फूलको रङसँगै महिलाको मेहनत, सीप र सम्भावना पनि फुलाउँदै गरेको उत्तम महिला कृषि सहकारी संस्थाको यो पहल स्थानीय कृषि प्रवर्द्धन र महिला सशक्तीकरणको प्रेरणादायी उदाहरण बनेको छ।
कात्तिक २१, तिलोत्तमा १४ का टिकुली गढ गाइज र लालीगुराँस आमा समूहले संयुक्त रुपमा सृजनशील संस्था नेपाल लाई शैक्षिक सामाग्री, खाद्यान्न र दैनिक उपयोग सामाग्री वितरण गरिएको छ । लालीगुराँस आमा समूहकी अध्यक्ष रामाशोभा पुन को अध्यक्षतामा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको प्रमुख आतिथ्यमा उक्त सामाग्री वितरण गरिएको थियो । कार्यक्रम को संयोजक दीपक श्रीस मगरले गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर युवा संघ तिलोत्तमा नगर समिति अध्यक्ष जीवन बुढाथीकि लगायत को उपस्थित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रवि सेन्चुरीको व्यक्तिको विकासमा राज्य र समाजको महत्वपूर्ण भूमिका हुने भएकाले हरेक व्यक्तिले सक्दो सामाजिक उत्तरदायित्व निभाउन जरुरी रहेको र राज्यले मौलिक हक अन्तरगत शिक्षा, स्वास्थ्य , गास, बास र कपासको ग्यारेन्टी राज्यले गरेता पनि त्यसकालागि सबैले भूमिका निभाउनु पर्ने बताए । आफूहरुले विभिन्न सृजनशील कार्यक्रम मार्फत विद्यार्थी, बालबालिका र युवालाई जोड्दै अघि बढेको कार्यक्रम संयोजक दीपक श्रीस बताए । कार्यक्रम को सञ्चालन आमा समूहको सदस्य शान्ति पुन मगरले गरेकी थिइन् ।
रुपन्देही । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सियारी गाउँपालिका–६, बर्दहवा स्थित श्री दुर्गा देवी मन्दिरमा आगामी कार्तिक १९ गते भजन कार्यक्रम आयोजना हुने भएको छ । भजन शुद्धोधन टोलीसँगको छलफल तथा समन्वयपछि ध्रुवतारा युवा क्लबको व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष सुरज घिमिरेले जनाएका छन् । भजन शुद्धोधन टोलीको स्थापना वि.सं. २०८२ सालमा भएको हो । स्थापना कालदेखि नै धार्मिक भजन, कीर्तन तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको यस टोलीले हालसम्म रुपन्देहीसहित विभिन्न स्थानमा ४० भन्दा बढी भजन कार्यक्रम सम्पन्न गरिसकेको छ । धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तामा भजन तथा कीर्तनप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले टोलीले विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ । बर्दहवामा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक वातावरण निर्माण गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक संरक्षणमा समेत योगदान पुर्याउने भजन टोलीका सदस्य संगम न्यौपानेले जानकारी दिएका छन् । आयोजकले सम्पूर्ण भक्तजन, धर्मप्रेमी तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई भजन–कीर्तनको आनन्द लिन र कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ ।
रुपन्देही । सियारी गाउँपालिका वडा नं. ७ निवासी मुन्निदेवी उपाध्यायका श्रीमान शारीरिक रूपमा अशक्त टिकाराम उपाध्यायलाई दैनिक आवागमनमा सहजता प्रदान गर्ने उद्देश्यले सियारी गाउँपालिकाले एक थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । शारीरिक अशक्तताका कारण हिँडडुल गर्न कठिनाइ भोग्दै आउनुभएका उपाध्यायलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो । ह्वीलचेयर प्राप्त भएसँगै उहाँको दैनिक आवागमन सहज हुनुका साथै व्यक्तिगत जीवनयापनमा समेत सहयोग पुग्ने अध्यक्ष घिमिरेले बताउनुभयो । गाउँपालिकाले शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका तथा विभिन्न कारणले सहयोगको आवश्यकता रहेका नागरिकको जीवन सहज बनाउन यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । स्थानीय नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता मानवीय सहयोगले लक्षित वर्गको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय सरकार नागरिकको सुखदुःखमा साथमा रहेको अनुभूति गराउने विश्वास गरिएको छ ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्तरीय निर्णयबाट लायन्स क्लब अफ सेन्टिनियलका पूर्व अध्यक्ष तथा Lions International District 325 P का Senior Advisor लायन दिपक कौशल लुम्बिनी विकास कोषको कार्यसमिति सदस्यमा नियुक्त भएका छन्। लुम्बिनी विकास कोषको कार्यसमितिमा सदस्यका रूपमा जिम्मेवारी पाउने निर्णयसँगै कौशलले अब लुम्बिनी क्षेत्रको विकास, संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापनसँग सम्बन्धित कार्यमा संस्थागत रूपमा भूमिका निर्वाह गर्नेछन्। कौशलको नियुक्तिसँगै लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासका क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति, आध्यात्मिकता तथा पर्यटनको केन्द्रका रूपमा थप प्रवर्द्धन गर्न कोषले अघि बढाउने योजना तथा कार्यक्रमहरूमा उनको भूमिका रहनेछ। लायन्स अभियानमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कौशलको नियुक्तिलाई लायन्सकर्मी तथा शुभेच्छुकहरूले पनि चासोका साथ लिएका छन्। लुम्बिनी विकास कोष बुद्ध जन्मस्थल लुम्बिनीका साथै देवदह, रामग्राम स्तूप र कपिलवस्तुका महत्वपूर्ण बौद्ध सम्पदाको संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेको संस्था हो। यस्तो महत्वपूर्ण संस्थाको परिषद् सदस्यमा कौशलको नियुक्तिले यस क्षेत्रको विकासमा थप सहकार्य र योगदानको अवसर सिर्जना गरेको छ।
रुपन्देही , कार्तिक १४ रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित श्री समीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा ५ औं निर्वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षता र संस्थापक अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रममा उपाध्यक्ष कमल प्रसाद थारुले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सञ्चालक समिति सदस्य सुदर्शन पौडेलले गरेका थिए । कार्यक्रममा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रतिमा नेपालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।त्यसै अवसरमा संस्थाका सल्लाहकार ध्रुव नेपाल र वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष माधब नेपालले राज्यले लागू गरेका अप्ठ्यारा नीतिका कारण सहकारी सञ्चालनमा चुनौती थपिएको बताउँदै सहकारीलाई सफल बनाउन नयाँ योजना सहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । साधारण सभाकै अवसरमा उत्कृष्ट बाल बचतकर्ता, ८० वर्ष नाघेका जेष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीतर्फ विनोद कुमार बनियालाई सम्मान गरिएको थियो। संस्थाका अनुसार हाल संस्थामा कुल १ हजार ३०९ जना शेयर सदस्य आबद्ध छन् जसमा ७१२ जना महिला र ५९७ जना पुरुष छन्। शनिबार सम्पन्न सहकारीको १४ औं वार्षिक साधारण सभा तथा ५ औ निर्वाचनबाट सर्वसम्मत रुपमा नरेश्वर गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ। जसको उपाध्यक्षमा प्रतिमा नेपाल, सचिवमा संजय कुमार गुप्ता (भुज), कोषाध्यक्षमा बृजेश कुमार बनिया रहेका छन् भने सदस्यहरुमा एकदेव सापकोटा, विमला नेपाल, जीवन शर्मा, टिका कार्की र सविता खड्का चयन भएका छन। त्यस्तै लेखा समितिको संयोजकमा थानेश्वर भुर्तेल र सदस्यहरुमा प्रेमनारायण यादव र विष्णुमाया गुरुङ चयन भएका छन् । निर्वाचन मण्डलको उपसमिति संयोजकमा बिष्णु भट्टराई रहेका थिए भने सदस्यहरुमा हेमन्त चौधरी र हरिद्वार गुप्ता रहेका थिए ।
कास्की। गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान तथा गाउँको प्राकृतिक सुन्दरतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको ‘लुम्रे गाउँ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका मेलिना राईको स्वर रहेको गीतमा राम प्रसाद गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको शब्द सिर्जनामा पासाङ गुरुङ (कान्छा) ले सहयोग गरेका छन्। गीतमा आन्दे गुरुङ (काले), रामप्रसाद गुरुङ, उषा गुरुङ र ममता गुरुङको पृष्ठभूमि स्वर रहेको छ। बुद्धराज बज्राचार्यले पोखरास्थित बार डिजिटल स्टुडियोमा गीतको मिक्सिङ गरेका हुन् भने तेजेन्द्र गुरुङले काठमाडौंस्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा एरेन्जको जिम्मेवारी सम्हालेका छन्। म्युजिक भिडियोमा सेरिना गुरुङ मुख्य मोडलका रूपमा देखिएकी छन्। रामप्रसाद गुरुङ र एलिशा गुरुङले सहायक कलाकारका रूपमा अभिनय गरेका छन्। भिडियोको निर्देशन जस्सु गुरुङले गरेका हुन् भने निकोलस गुरुङले डीओपी तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्। आकर्षण आचार्यले छायांकन, बिनिता गुरुङले मेकअप र लाइनअप स्टुडियोजले पोस्ट–प्रोडक्सनको काम गरेको छ। भिडियोमा जलन गुरुङको नृत्य निर्देशन रहेको छ। शिव गुरुङ र दिलमाया गुरुङ निर्माता रहेको यस म्युजिक भिडियोमा १६ जना कोरस नृत्य कलाकारको सहभागिता रहेको छ। गीत तथा भिडियो निर्माणमा स्थानीय कलाकार र सिर्जनात्मक टोलीको सहकार्य देख्न सकिन्छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, लुम्रेमा केन्द्रित यस सांगीतिक प्रस्तुतिले स्थानीय भूगोल, संस्कृति र पहिचानलाई व्यापक दर्शकमाझ पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीत निर्माणमा नव निश्चल युवा क्लब तथा मिर्मिरे आमा समूहले समेत सहयोग गरेका छन्। ‘लुम्रे गाउँ’ म्युजिक भिडियोले नेपाली मौलिक संगीतप्रेमी दर्शक तथा गुरुङ समुदायका दर्शकमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ। भिडियो लिंक: https://www.youtube.com/watch?v=hrHVumaaIro
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका–७, अमवास्थित उत्तम महिला कृषि सहकारी संस्था लिमिटेडले दुवै मिर्गौला फेल भएका स्थानीय बासिन्दा हरि बनियाको उपचारका लागि नगद रु. ७ हजार १५५ आर्थिक सहयोग गरेको छ। सहकारी संस्थाले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै जीवनमरणको दोसाँधमा रहेका बनियाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। सहकारी संस्थाकी अध्यक्ष सुदिक्षा खरेलले यस्तो कठिन परिस्थितिमा पीडितलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउँदै सहयोगी मन भएका सम्पूर्ण व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि अघि बढ्न आग्रह गर्नुभयो। सियारी गाउँपालिका–७, अमवाका निवासी हरि बनियाका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। चिकित्सकको सल्लाहअनुसार उहाँको जीवनरक्षाका लागि तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले ठूलो रकम आवश्यक परेको छ। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा बनियाको जीवनरक्षाका लागि परिवारले सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। यस कठिन घडीमा सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो योगदान पुर्याउन सक्ने भएकाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, सामाजिक संघसंस्था, व्यवसायी, समाजसेवी तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ। मानवीयता नै सबैभन्दा ठूलो धर्म हो। हरि बनियाको जीवनरक्षाका लागि तपाईंको सानो सहयोग पनि अमूल्य बन्न सक्छ। आउनुहोस्, सबै मिलेर उहाँको उपचारमा सहयोग गरौँ। सहयोग गर्नका लागि ज्योति विकास बैंक खाता नं 06501200253939000001 सम्पर्क नं: 9827466080
रुपन्देही, असोज २८। रुपन्देहीको सियारी गाउँपालिका–६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका उर्मिला भट्टराईको महत्त्वपूर्ण व्यक्तिगत तथा शैक्षिक कागजातहरू रहेको साइडब्याग हराएको छ। असोज २८ गते बुधबार मणिग्रामबाट सौराहा, बेतहानी, अमुवा हुँदै विद्यालय आउने क्रममा भट्टराईको साइडब्याग हराएको हो। हराएको झोलाभित्र निजकै नाममा रहेका महत्त्वपूर्ण व्यक्तिगत तथा शैक्षिक कागजातहरू रहेको जनाइएको छ। मणिग्रामदेखि सौराहा, बेतहानी, अमुवा हुँदै बर्दहवासम्मको उक्त सडकखण्डमा यात्रा गर्ने क्रममा कसैले झोला फेला पारेको भए सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन आग्रह गरिएको छ। झोला फेला पार्ने वा त्यसबारे कुनै जानकारी पाउने व्यक्तिलाई मनिषा पौडेल, पूजा पाण्डे वा प्रकाश पाण्डेमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, फेला परेको झोला विद्यालय प्रशासनमा बुझाएर सहयोग गरिदिन पनि अनुरोध गरिएको छ। हराएका कागजातहरू सम्बन्धित व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले झोला फिर्ता गरिदिने सहयोगी व्यक्तिलाई उचित धन्यवाद सहित पुरस्कारको व्यवस्था गरिने जनाइएको छ। सम्पर्क नम्बरहरू: मनिषा पौडेल: ९८४७०९७९३७ पूजा पाण्डे: ९८२४४०२०४८ प्रकाश पाण्डे: ९८४७२२७६५९ हराएको झोला फेला पार्ने वा त्यसबारे जानकारी हुने जोकोहीलाई उल्लिखित सम्पर्क नम्बरमा जानकारी गराई सहयोग गरिदिन अनुरोध गरिएको छ।
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, भुजौली स्थित सहर्ष बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा (एकीकरण पश्चात् तेस्रो साधारण सभा) तथा सहर्ष मार्ट एवं नवनिर्मित भवन उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटनमन्त्री माननीय तुलसी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो। त्यसैगरी शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं. २ का अध्यक्ष कमल खड्का, जिल्ला सहकारी सङ्घका अध्यक्ष भीम तुलाचन तथा महासचिव दामोदर पंगेनी लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नयाँ भवन तथा मार्ट सञ्चालनमा आएसँगै संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने र सदस्यहरूलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यसै सन्दर्भमा सहर्ष बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत संरचना विस्तार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नवनिर्मित भवन तथा मार्ट सञ्चालनमा ल्याएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, सहकारीकर्मी, संस्थाका सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। नवनिर्मित भवन तथा सहर्ष मार्टको उद्घाटन र वार्षिक साधारण सभाले संस्थाको भावी प्रगति, संस्थागत सुदृढीकरण तथा सदस्यकेन्द्रित सेवा विस्तारमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
रुपन्देही । नेपाली मौलिकता र शिवभक्तिमा आधारित नयाँ नेपाली भक्तिमय भजन ‘झरे शिवाजी’ घटस्थापनाको शुभमुहूर्त पारेर सार्वजनिक गरिएको छ। भगवान् शिवप्रति समर्पित उक्त भजनको आधिकारिक म्युजिक भिडियोले धार्मिक आस्था, भक्ति र नेपाली संस्कृतिलाई समेटेको छ। विष्णु प्रसाद पौडेलको स्वर रहेको भजनमा कालिदास खनाल, विष्णु देवी खनाल र राधा भुसालले कोरस स्वर दिएका छन्। बाल कलाकार डेभसन पौडेलको समेत स्वर रहेको भजनको संगीत, संगीत संयोजन तथा रेकर्डिङ कृष्ण सुवेदीले गरेका हुन्। गीतको रेकर्डिङ तिलोत्तमा–१, नयाँमिल स्थित गोपाल दास स्टुडियोमा गरिएको हो। भजनको म्युजिक भिडियो रुपन्देहीका विभिन्न धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानमा छायांकन गरिएको छ। शुद्धोधन गाउँपालिका–५ स्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर, दरबाहा तथा बुटवलस्थित पिस पार्कलगायतका क्षेत्रमा भिडियोको छायांकन गरिएको हो। धार्मिक स्थलहरूको प्राकृतिक र सांस्कृतिक परिवेशले भिडियोमा भक्तिमय वातावरण प्रस्तुत गरेको छ। भिडियोमा विमला पौडेल मुख्य मोडलका रूपमा देखिएकी छन्। सरोज ढकालले भिडियो निर्देशन गरेका छन् भने दीपिका पौडेल ढकालले नृत्य निर्देशन गरेकी छन्। कोरस नृत्यमा मञ्जु आचार्य, तारा के.सी., प्रतीक्षा गिरी, पार्वती गौडेल, अर्जु ढकाल र इस्मा आचार्य सहभागी छन्। भिडियोमा निशान्त पोखरेलले भगवान् शिव, दीपिका पौडेल ढकालले पार्वती, कालिदास खनालले गणेश तथा अन्य कलाकारले शिवगण, कुमार र ब्रह्मालगायतका भूमिका निर्वाह गरेका छन्। गीतका शब्द के.पी. भण्डारीले रचना गरेका हुन्। भजनको पोस्ट प्रोडक्सन हेलो नेपाल मिडिया प्रा.लि.ले गरेको हो। घटस्थापनाको पावन अवसर पारेर सार्वजनिक गरिएको ‘झरे शिवाजी’ले नेपाली भक्तिमय संगीतमार्फत धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। शिवभक्तिमा आधारित यस भजनको म्युजिक भिडियोले नेपाली धार्मिक संगीतप्रेमी दर्शक तथा श्रोतामाझ स्थान बनाउने विश्वास निर्माण टोलीले लिएको छ। भिडियो लिंक https://www.youtube.com/watch?v=GG4lrFuhlSY
रुपन्देही ज्ञान, नेतृत्व क्षमता तथा भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा तमू विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही, २०८३ असोज २४ गते। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति रुपन्देहीले “ज्ञान, नेतृत्व क्षमता तथा भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणप्रति चेतना अभिवृद्धि” भन्ने मूल नाराका साथ तमू विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो। “सम्पूर्ण तमू (गुरुङ) विद्यार्थी एकजुट होऔँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले तमू विद्यार्थीहरूमा शैक्षिक जागरण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा आफ्नो जातीय पहिचानप्रतिको चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं रुपन्देही जिल्ला अध्यक्ष श्री सरोज तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष श्री राम बहादुर तमू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशका सचिव श्री आशिष तमू ‘सागर’ मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देहीका प्रचार सचिव श्री तेज प्रसाद तमू, माङी अध्यक्ष श्री बबिता तमूस्यो, बुटवल नगर सचिव श्री सुन्दर तमू तथा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं रुपन्देहीका पूर्व अध्यक्ष श्री पोबिन्द्र तमूलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। साथै, बुटवल नगर क्षेत्रका तमू विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य प्रशिक्षक श्री आशिष तमू ‘सागर’ले विद्यार्थी जीवनमा ज्ञान, अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीहरू केवल आफ्नो व्यक्तिगत भविष्य निर्माणमा मात्र सीमित नभई समाज, समुदाय र राष्ट्रको विकासमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो। त्यसैगरी, भाषा, संस्कृति, मौलिक परम्परा र जातीय पहिचानको संरक्षण तथा पुस्तान्तरणमा युवा विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण रहने विषयमा समेत अभिमुखीकरण गरिएको थियो। कार्यक्रमले तमू समुदायका विद्यार्थीहरूबीच आपसी एकता, सहकार्य, भाइचारा र संगठनप्रतिको अपनत्व अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आफ्नो मातृभाषा, धर्म, संस्कार, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षण गर्दै आधुनिक शिक्षा तथा ज्ञानसँगै अघि बढ्नु आजका तमू विद्यार्थीहरूको महत्त्वपूर्ण जिम्मेवारी रहेको सन्देशसमेत कार्यक्रमले दिएको छ। तमू समुदायको हक, अधिकार, पहिचान र शैक्षिक विकासका लागि विद्यार्थीहरू संगठित, सचेत र सक्षम बन्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता अभिमुखीकरण कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच, नेतृत्वदायी क्षमता र सामाजिक सेवाभाव विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। समग्रमा, तमू विद्यार्थीहरूलाई ज्ञान, सीप, नेतृत्व र पहिचानको संरक्षणप्रति सचेत बनाउँदै एकताबद्ध गर्ने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रम उपलब्धिमूलक रहेको आयोजकको विश्वास छ। आगामी दिनमा पनि तमू विद्यार्थीहरूको शैक्षिक उन्नति, व्यक्तित्व विकास तथा भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।
रुपन्देही। माध्यमिक शिक्षक संगठन नेपाल (HISTUN) रुपन्देहीको जिल्ला अधिवेशन शनिबार बुटवलस्थित नवीन औद्योगिक कदर बहादुर रीता माविमा सम्पन्न भएको छ। अधिवेशनले दिपक बस्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो। अधिवेशन मित्रबन्धु गौडेलको अध्यक्षता तथा माध्यमिक शिक्षक संगठनका केन्द्रीय सह–अध्यक्ष युवराज न्यौपाने प्रमुख अतिथि एवं नविन औद्योगिक माध्यमिक विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले शिक्षकहरूको पेसागत निरन्तरता, रोजगारीको सुरक्षा र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकले लामो समयसम्म शिक्षण पेसामा योगदान पुर्याए पनि अवकाशपछिको जीवन सुरक्षित र सम्मानजनक बनाउन आवश्यक व्यवस्था हुनुपर्ने बताउनुभयो। उहाँले शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई महत्त्वका साथ अघि बढाउनुपर्ने धारणा राख्दै शिक्षकको भविष्य सुरक्षित गर्न राज्य, सम्बन्धित निकाय र शिक्षक संगठनबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। शिक्षकको पेसागत स्थायित्व र सामाजिक सुरक्षाको सुनिश्चितताले शिक्षण पेसाप्रति आकर्षण बढाउनुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत योगदान पुर्याउने उहाँको भनाइ थियो। अधिवेशनबाट उपाध्यक्षमा ध्रुव बस्याल, महिला उपाध्यक्षमा सपना भट्टराई, सचिवमा इ. बिमल अर्याल, सह–सचिवमा होमनाथ कँडेल र कोषाध्यक्षमा विष्णु न्यौपाने चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा शिवप्रसाद अर्याल, लक्ष्मण प्र. पाठक, दिपक तिवारी, भोजराज पौडेल, गिरिराज अर्याल, नारायण शर्मा, राममिलन यादव, करुणा थापा, ध्रुवनारायण प्रजापति र आस्विनी कुमारी सिंह चयन हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष दिपक बरालको नेतृत्वमा जिल्ला कार्यसमितिले शिक्षकका पेसागत समस्या समाधान, सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल तथा गुणस्तरीय शिक्षाको विकासमा योगदान पुर्याउने तवरले संगठनलाई अगाडी बढाउने प्रतिबद्धता जनाएको छ।
पन्देही। पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ सामग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सियारी गाउँपालिका–७ स्थित समयमाई माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वैशाख २०८३ महिनाभरि खानेपानीको धारा जडान गरेका करिब ११३ जना उपभोक्तालाई खानेपानी शिक्षा तथा सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको हो। संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा नयाँ धारा जडान गरेका उपभोक्तालाई स्वच्छ खानेपानीको महत्त्व, खानेपानीको सुरक्षित प्रयोग, पानीजन्य रोगबाट बच्ने उपाय तथा व्यक्तिगत र घरायसी सरसफाइसम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, सरसफाइसम्बन्धी व्यवहारलाई दैनिक जीवनमा अपनाउन प्रेरित गर्ने उद्देश्यले उपभोक्तालाई आवश्यक सामग्री वितरण गरिएको थियो। स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै त्यसको सुरक्षित प्रयोग र सरसफाइमा ध्यान दिन सके विभिन्न प्रकारका पानीजन्य रोगबाट बच्न सकिने भएकाले संस्थाले उपभोक्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमले नयाँ धारा जडान गरेका उपभोक्तालाई खानेपानीको उचित व्यवस्थापन, स्वच्छता र सरसफाइप्रति सचेत बनाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उपभोक्तालाई स्वच्छ, सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।